काठमाडौं, ६ जेठ । स्थानीय तहको चुनावी तयारीको विषयमा ८ चैत ०७८ मा एमाले मुख्यालयमा केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकमा प्रदेश कमिटीका अध्यक्षहरूले आ-आफ्नो प्रदेशमा जित्न सकिने पालिकाको संख्यासहित लामो रिपोर्टिङ गरेका थिए ।
उनीहरूले तीन भिन्न परिस्थितिमा एमालेको अवस्था के हुन्छ भन्ने तथ्यांक प्रस्तुत गरेका थिए । एक, सत्ता गठबन्धन कायम रहेको अवस्था । दुई, सबै दलहरू एकल प्रतिस्पर्धा । तीन, स्थानीय आवश्यकताअनुसार एमालेले तालमेल गरेको अवस्था ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, उक्त बैठकमा तीन परिस्थितिको आंकलन गरेर एमालेले जित्ने पालिका संख्याको विश्लेषण भएको थियो । शिलापत्रसँग कुरा गर्दै ज्ञवाली सबैभन्दा कमजोर अवस्थामा पनि एमाले कम्तिमा ३४ प्रतिशत जित निकाल्ने अवस्थामा रहेको रिपोर्टिङ भएको बताउँछन् ।
ज्ञवाली भन्छन्, ‘सबै दल एक्लाएक्लै चुनाव लड्दा ४६ प्रतिशत, आवश्यकताअनुसार स्थानीय तहमा एमालेले तालमेल गर्दा ६० प्रतिशत र सत्ता गठबन्धनसँग एमाले एक्लै लड्दा ३४ प्रतिशत जित निकाल्न सक्ने रिपोर्टिङ भएको थियो ।’
३० वैशाख ०७९ मा भएको मतदानपछि आएको पछिल्लो परिणामले भने एमालेको उक्त हिसाबकिताब तलमाथि परेको छ । अहिलेसम्मको मतपरिणामअनुसार एमालेले कमजोर हुँदाको अवस्थाको आँकलनभन्दा करिब ६ प्रतिशतले घटेको छ । पछिल्लो परिणामअनुसार एमालेले २८ प्रतिशत मात्रै जित निकाल्न सकेको छ ।
गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले तीनवटा विकल्पमाथि विश्लेषण गरेर व्याख्या गरेका थिए । शर्माले गण्डकी प्रदेशमा एमाले एक्लै चुनाव लड्दा पोखरा महानगरपालिकासहित ५० वटा पालिका प्रमुख जित्ने दाबी गरेका थिए । दोस्रो, स्थानीय आवश्यकताअनुसार माओवादी र जनमोर्चासँग तालमेल गर्दा ८० वटा पालिका प्रमुख जित्न सकिने बताएका थिए । तेस्रो सन्दर्भचाँहि सत्ता गठन्धनबीच तालमेल हुँदा एमाले २७ वटा पालिकामा ओर्लिने रिपोर्टिङ गरेका थिए ।
गण्डकीमा एमालेले अहिलेसम्म ३५ पालिका प्रमुख जितेको छ । गण्डकी प्रदेशमा एमाले पहिलो दल बन्न संघर्ष गरिरहेको छ । यद्यपी, गण्डकीका सबै पालिकामा सत्ता गठबन्धन भने भएको थिएन ।
गण्डकीका शर्माजस्तै प्रदेशको रिपोर्टिङ थियो, कर्णाली प्रदेशमा अध्यक्ष विनोद शाहको । त्यतिबेला एमालेले सत्ता गठबन्धन नभएको अवस्थामा २९ वटा पालिका जितेर पहिलो दल बन्ने दाबी गरेका थिए । सत्ता गबठन्धन भएको अवस्थामा भने १५ वटा पालिका जित्ने विश्लेषण सुनाएका थिए ।
शाहको विश्लेषणअनुसारकै अहिले एमालेले १५ वटा पालिका जितेको छ । अघिल्लो चुनावमा एमालेले २७ वटा पालिका जित्दै कर्णालीको सबैभन्दा ठूलो दल बनेको थियो ।
प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले १ सय ३७ पालिकामध्ये ८५ वटा पालिका जित्ने दाबी गरेका थिए । त्यसको आधार प्रस्तुत गर्ने क्रममा न्यौपानले एमालेमा प्रदेश १ मात्रै ३० हजार व्यक्ति एमाले प्रवेश गरेको तथ्यांक पनि प्रस्तुत गरेका थिए ।
त्यसैले उनले त्यतिबेला ७७ वटा पालिकामा सहजै जित निकाल्ने सक्ने व्याख्या गरेका थिए । यद्यपी, अहिलेसम्म प्रदेश १ मा एमालेले ४० वटामात्रै पालिका प्रमुख जितेर दोस्रो दलमा खुम्चिएको छ । केही पालिकाको अन्तिम नतिजा भने आइसकेको छैन । त्यसैगरी, मधेस प्रदेशकी अध्यक्ष ज्वालाकुमारी साहले एमाले पहिलो पार्टी भन्ने विश्लेषण गरेको भए पनि संख्या भने तोकिएको थिएन ।
पहिलो पार्टी बन्न नसके पनि एमालेले मधेश प्रदेशमा पालिका संख्या बढाएको छ । पहिले १७ वटा पालिका जितेको एमालेले अहिले १९ वटामा जितिसकेको छ । अझै केही पालिकामा अग्रता लिइरहेको छ । एमालेको विभाजनको असर तुलनात्मक रूपमा मधेश प्रदेशमा परेको थियो । पालिका संख्या बढाएको भए पनि एमाले पहिलो दल भने बन्न सक्ने अवस्था देखिएको छैन ।
तुलनात्मक रूपमा बलियो मानिएको बागमती प्रदेशमा पनि एमालेले क्षति बढ्ता भोगेको देखिएको छ । ८ चैतको केन्द्रीय कमिटीको बैठकमा प्रदेश अध्यक्ष केशव पाण्डेले ३ वटा महानगरसहित ८० पालिका प्रमुख जित्ने दाबी प्रस्तुत गरेका थिए ।
भरतपुर, काठमाडौं र ललितपुर महानगर जित्ने उनको आँकलन थियो । हुन त, पछिल्ला दिनसम्म पनि महानगरमा एमालेले बढी नै आश गरेको थियो । पाण्डेले त्यतिबेला गरेको रिपोर्टिङको हिसाबमा अहिले ठूलो अन्तर देखिएर २४ पालिकामा झरेको छ । जबकी अघिल्लो चुनावमा ६४ पालिकामा एमालेले जित निकालेको थियो ।
त्यही अवस्था लुम्बिनी प्रदेशमा देखिएको छ । एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू घनश्याम भुसाल, प्रदीप ज्ञवाली र गोकर्ण विष्टहरूको प्रभाव रहेको प्रदेशमा एमालेले निकै क्षति भोगेको छ । बुटवल उपमहानपालिकालगायतका तुलनात्मक रूपमा महत्व राख्ने पालिकाहरूमा एमाले पराजित हुन पुगेको छ ।
८ चैतको बैठकमा प्रदेश अध्यक्ष राधकृष्ण कँडेलले ६२ पालिका जित्ने रिपोर्टिङ गरेका थिए । एक सय ९ वटा पालिका रहेको लुम्बिनीमा २७ वटा पालिकामात्रै एमाले कमजोर रहेको आँकडा प्रस्तुत गरेका थिए । अझ, त्यतिबेला कँडेलले १० हजारभन्दा बढी व्यक्तिले एमाले प्रवेश गरेको तथ्यांक पनि प्रस्तुत गरेका थिए ।
अहिलेसम्म एमाले लुम्बिनी प्रदेशमा २३ पालिकामा जित निकाल्न सकेको छ, जबकी अघिल्लो चुनावमा ४३ पालिकामा जितेको थियो ।
त्यसैगरी, एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारीले सुदूरपश्चिममा ३८ पालिका प्रमुख जित्ने दाबी गरेका थिए । ८८ वटा पालिकामा पहिला एमालेले ३९ पालिका जितेको थियो । एउटा पालिका घट्ने अनुमानसहित उनको तथ्यांक केन्द्रीय कमिटीमा प्रस्तुत गरेका भए पनि अहिलेसम्मको चुनावी नतिजामा भने एमाले २३ वटा पालिका प्रमुखमात्रै जितेको छ ।
एमाले उपमहासचिव ज्ञवालीको भनाइमा चारवटा कारणले एमालेको हिसाब नमिलेको हो । एक, सत्ता गठबन्धन । दोस्रो, आन्तरिक कारण । तीन, पार्टी विभाजन । चार, स्वतन्त्रको पक्षमा देखिएको ट्रेन्ड ।
ज्ञवाली भन्छन्, ‘एकातिर सत्तागठबन्धन मिलेर प्रतिस्पर्धामा आए । त्यति नै बेला उम्मेदवारी छनौटमा पनि कमजोर गरियो । त्यसले पनि परिणाममा प्रभाव पारेको छ ।’
ज्ञवालीले भनेझैँ एमालेले पोखराको मेयर र काठमाडौंको मेयरका उम्मेदवारको विषय भने बढ्ता विवादमा तानिएको थियो । काठमाडौं, धनगढी, धरानलगायत सहरी क्षेत्रमा स्वतन्त्र उम्मेदवारप्रतिको आर्कषण पनि देखियो । ज्ञवाली भन्छन्, ‘स्वतन्त्र उम्मेदवारप्रति देखिएको ट्रेन्डले पनि एमालेलाई असर पारेको छ ।’
प्रतिक्रिया