विवादका बीचमै एसियन कप छनोटका लागि फुटबल टिम घोषणा

काठमाडौं, ६ जेठ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणबाट १० खेलाडीलाई निकालेको विवाद समाधान हुनुअघि आसन्न एसिएन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।

अल्मुताइरीले शुक्रबार विद्रोही खेलाडीलाई बाहिर राखेर ठूला प्रतियोगिता खेल्ने टिम घोषणा गरेका छन् । वैशाख १२ गते प्रशिक्षक अल्मुताइरीको निर्देशनमा खेलाडीहरुले बन्द प्रशिक्षण छाड्नुपरेको बताउँदै आएका छन् । यस घटनाबारे अखिल नेपाल फुटबल संघ एन्फाले गठन गरेको तीन सदस्यीय छानविन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ ।

एन्फाले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन । तर, विवादको केहिदिन पछि प्रशिक्षक अल्मुताइरीले खेलाडीलाई कारबाही नगर्न एन्फालाई आग्रह गरेका थिए । उनले आसन्न एसियन कप छनोटका लागि उनीहरु आफ्नो टिममा नअट्ने प्रष्ट पारिसकेका थिए ।

राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठलाई बाहिर राख्दै शुक्रबार प्रशिक्षक अल्मुताइरीले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् ।

विकास तामाङ, शिव गुरुङ, निरकुमार राई र रोशन रानामगरले पहिलोपल्ट राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । कम अनुभवी नेपाली टोलीले एसियाली पावरहाउस देशहरुसँग एसियन कप छनोट तेस्रो चरणमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

नेपाल रहेको समूह ए मा जोर्डन, कुवेत र इण्डोनेसिया छन् । नेपालले जेठ २५ गते जोर्डन, जेठ २८ गते कुवेत र ३१ गते इण्डोनेसियासँग खेल्दैछ ।

नेपाली टोली
गोलरक्षकः दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापा
डिफेण्डरः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल
मिडफिल्डरः आकाश बुढामगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपर्कोटी, रोशन रानामगर, सन्तोष तामाङ, शेशेहाङ आङदेम्बे, सुनील वल र सुरज ज्यू ठकुरी
फरवार्डः आयुश घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति