काठमाडौं । ७५३ स्थानीय तहमध्ये आज बिहानसम्म देशभरका ६ सय २६ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसले २७९ स्थानीय तहमा प्रमुख जितेको छ भने ४३ स्थानीय तहमा अग्रता कायम राखेको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै स्थानीय तह जितेर पहिलो दल बनेको नेकपा एमाले यो निर्वाचनमा कांग्रेसभन्दा पछि परेको छ ।
एमालेले अहिलेसम्म १७३ स्थानीय तहको प्रमुख जितेको छ । मतगणना चलिरहेका २८ पालिकामा एमालेका उम्मेदवार अगाडि छन् ।
माओवादी केन्द्रले अहिलेसम्म ११२ स्थानीय तहको प्रमुख जितेको छ भने १२ पालिकामा उसले अग्रता कायम राखेको छ।
अहिलेसम्म सार्वजनिक मत परिणाम र अग्रतालाई हेर्दा माओवादी केन्द्रले ०७४ को भन्दा आफ्नो अवस्था सुधार गरेको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले अहिलेसम्म १८ स्थानीय तहको प्रमुख जितेर चौथो स्थान कायम गरेको छ । उसले १२ स्थानीय तहमा अग्रता कायम गरेको छ ।
नेकपा एकीकृत समाजवादीले अहिलेसम्म १४ स्थानीय तहको प्रमुख जितेको छ। ५ स्थानीय तहमा उसले अग्रतालाई कायम राखेको छ।
महन्थ ठाकुर नेतृत्वको लोसपाले अहिलेसम्म ७ स्थानीय तहको प्रमुख जितेको छ भने मतगणना चलिरहेका पाँच स्थानमा अग्रता कायम राखेको छ।
अहिलेसम्म देशभरमा ६ स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। मतगणना चलिरहेको कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार अघि छन्।
राष्ट्रिय जनमोर्चाले अहिलेसम्म तीन स्थानीय तहको प्रमुख जितेको छ भने राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिका र झापाको हल्दीबारी गाउँपालिकाको प्रमुख जितेको छ।
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा प्रमुख जितेको छ भने सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीका दुई पालिका प्रमुख जितेको छ।
नेपाल मजदुर किसान पार्टीले अहिलेसम्म भक्तपुरको एउटा स्थानीय तहमा जित हासिल गरेको छ भने तमलोपाले धनुषाको एक स्थानीय तहको प्रमुख जितेको छ।
प्रतिक्रिया