काठमाडौं, ६ जेठ । पालिकाहरुमा नयाँ जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल आजदेखि सुरु भएको छ ।२०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल गएरातिदेखि सकिएसँगै नयाँ जनप्रतिनिधिको कार्यकाल आजदेखि सुरु भएको हो । तर, नयाँ कार्यकालका लागि भएको चुनावमा केही ठाउँको नतिजा आउनै बाँकी छ।
धेरैजसो ठाउँँको भने अन्तिम नतिजा आइसकेको छ । चुनावको अन्तिम नतिजा नआए पनि जनप्रतिनिधिको कार्यकाल आजैदेखि सुरु भएको मानिने निर्वाचन आयोगले जनाएको छ ।
बिहीबार रातिसम्म ६०३ पालिकाको परिणाम आएको छ । सत्तारूढ दल कांग्रेसले सबैभन्दा धेरै पालिकामा प्रमुख र उपप्रमुख जितेको छ भने ०७४ को निर्वाचनमा पहिलो बनेको एमाले यसपटक दोस्रो स्थानमा छ । महिला प्रमुखको संख्या भने हालसम्म जम्मा १७ मा सीमित छ । पालिका प्रमुखमा ५८६ जना पुरुषले जितेका छन् । यसरी महिला प्रमुखको संख्या ३ प्रतिशत पनि पुगेको छैन । उपप्रमुखमा भने महिलाको संख्या ७३ प्रतिशत छ । ४३९ पालिकामा महिला उपप्रमुख हुँदा पुरुषको संख्या १६४ छ । एमालेले सबैभन्दा धेरै १८७ पालिकामा जितेकामा महिलाको संख्या १६५ (८८ प्रतिशत) छ । कांग्रेसले २४६ पालिकामा उपप्रमुख जित्दा महिला १८१ जना (७४ प्रतिशत) र माओवादीले ११५ पालिका उपप्रमुख जितेकामा महिला ५६ जना (४९ प्रतिशत) छन् ।
एकीकृत समाजवादीले १८ पालिकामा उपप्रमुख जितेको छ, तीमध्ये ९ जना (५० प्रतिशत) महिला छन् । जसपाले १७ पालिकामा उपप्रमुख जितेकामा १५ (८८ प्रतिशत) र लोसपाले ७ उपप्रमुख जितेकामा ४ जना (५७ प्रतिशत) महिला निर्वाचित भएका छन् । अन्य दल र स्वतन्त्र गरी ९ जना महिला उपप्रमुख निर्वाचित भएका छन् । आयोगका अनुसार अब अछामको साफेबगर–१३ राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको निर्वाचन शुक्रबार हुँदै छ । बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकामा पुनः निर्वाचनको उजुरी परेपछि आयोगले निर्णय लिन सकेको छैन । ‘स्थानीय तहमा जनप्रतिनिधि रिक्त नहोस् भनेर सरकारले कार्यकाल सकिनुअघि नै निर्वाचन घोषणा गरेको थियो । आयोगले निर्वाचन गरेर नतिजा समेत सार्वजनिक गरिसक्यो,’ प्रमुख निर्वार्चन आयुक्त दिनेश थपलियाले भने, ‘कार्यकालको गणना शुक्रबारदेखि लागू हुने गरी सात दिनभित्र सपथ ग्रहण गराइसक्न मुख्य निर्वाचन अधिकृतलाई अनुरोध गरिसकेका छौ ।’ बिहीबार मध्यरातसम्मको मत परिणामअनुसार कांग्रेस २६५, एमाले १७१, माओवादी १०७, जनता समाजवादी १७, एकीकृत समाजवादी १४, लोसपा ४ तथा राप्रपा र स्वतन्त्रले २३ पालिकामा विजय हासिल गरेको आयोगले जनाएको छ ।
जेठ ५ लाई स्थानीय तहका जनप्रतिनिधिको पदमा बहाल रहने अन्तिम मिति मानेर वैशाख ३० मै निर्वाचन गरिएको थपलियाले बताए । वैशाख ३० यता निर्वाचन भएको पालिकामा पनि चार दिनभित्र मत गणना सम्पन्न गर्न आयोगले निर्देशन दिएको छ । निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिका अध्यक्ष, नगर प्रमुखले कार्यभार सम्हाल्नुअगावै निर्वाचित भएको सात दिनभित्र जिल्ला न्यायाधीशबाट पद तथा गोपनियताको शपथ लिनुपर्ने हुन्छ । अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपप्रमुख, वडाअध्यक्ष, गाउँ तथा नगरसभाका सदस्यले सपथ लिनुपर्ने कानुनी व्यवस्था छ । आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई परिपत्र गर्दै कानुनअनुसार पद तथा गोपनीयताको शपथ गराउन आग्रह गरेको छ ।
मतपरिणाम सार्वजनिक भएको १५ दिनभित्र नगरपालिकाको निर्वाचन गरिसक्नुपर्ने हुन्छ ।
संविधानको धारा २१५ उपधारा (४) मा गाउँसभा निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले १५ दिनभित्र गाउँसभाका सदस्यले आफूमध्येबाट निर्वाचित चार महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट दुई जना गाउँ सभाले निर्वाचित गर्नुपर्ने हुन्छ । त्यस्तै, नगरपालिकामा पाँच जना महिला सदस्य र दलित वा अल्पसंङ्ख्यक समुदायबाट तीन जना सदस्यको निर्वाचन गर्नुपर्ने हुन्छ । ‘सात दिनभित्र सपथ गराई गाउँ सभाको निर्वाचन गर्न सबैलाई अनुरोध गरिसक्यौ,’ थपलियाले भने । निर्वाचनबाट बिजेता भइसकेकाले पनि साइत कुरेर बसेकै कारण सोमबार मात्रै कार्यभार सम्हाल्ने जानकारी आयोगलाई गराएका छन् ।
प्रतिक्रिया