स्थानीय तह निर्वाचनको ८० प्रतिशत मत परिणाम आइसक्याेः प्रवक्ता पौडेल

काठमाडाै, ५ जेठ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत मत परिणाम आइसकेको बताएको छ ।

आयोगले बिहीबार गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत स्थानीय तहको मत परिणाम आइसकेको बताएका हुन् । उनले हालसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम आइसकेको बताए । जसमध्ये प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाअध्यक्षमा ५ हजार ६५९, महिला सदस्यमा ५ हजार ६५३, दलित महिला सदस्यमा ५ हजार ५५६ र वडा सदस्यमा १ हजार २९५ गरी कुल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेको उनले जानकारी दिए ।

उनले भने – ‘हालसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ । प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाअध्यक्षमा ५ हजार ६५९, महिला सदस्य ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ५५६ र वडा सदस्य १ हजार २९५ गरी कुल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेका छन् । ३५ हजार २२१ कुल पदाधिकारी निर्वाचित हुनुपर्नेमा करिब ८० प्रतिशतको परिणाम आइसकेको छ ।’

बैशाख ३० गते स्थगित भएको अछामको साँफेबगरमा जेठ ६ गते पुनः मतदान हुने कार्यक्रम रहेको उनले जानकारी दिए । त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी रहेको उनले बताए । प्रवक्ता पौडेलले पुनः मतदान भएका मतदान केन्द्रको हकमा मत पेटिका प्राप्त भएको बढीमा ४ दिनभित्र मत गणना कार्य सम्पन्न हुने बताए । आयोगले निर्वाचनको क्रममा मतदान स्थलमा कानून विपरित गतिविधिमा संलग्न लाई पक्राउ गरी कारबाही गर्न देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिएको पनि उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति