काठमाडौँ उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य हुँदै !

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) काठमाडौँ उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरमा २० ओटा स्थानीय तह छन् । त्यसमध्ये दुई ओटा त महानगर छन् ।

तर, मतगणना जारी रहेका कुनै पनि स्थानीय तहमा माओवादी प्रतिस्पर्धीसम्म बनेको छैन । मतगणना सकिएको ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा मात्र माओवादी प्रतिस्पर्धी दल बन्यो ।

जहाँ पहिले माओवादीले अध्यक्ष र उपाध्यक्षसँगै वडा नम्बर १, २ र ५ जितेको थियो । कांग्रेसले वडा नम्बर ३ र ४ जित्दा एमाले वडा र गाउँपालिकाको नेतृत्वबाट ‘क्लिन स्विप’ भएको थियो ।

यस पटक भने अध्यक्षमा एमालेका कृष्णमान लामा निर्वाचित भए । २०७४ सालमा उनी माओवादीका गोपीलाल सिङ्तानबाट पराजित भएका थिए ।

बाँकी १९ मध्ये केही स्थानीय तहको परिणाम आएको छ । महाङ्‍काल र बागमती गाउँपालिकामा भने दुई उपाध्यक्ष माओवादीले पाएको छ । अध्यक्ष भने कांग्रेसले जितेको छ।

ललितपुर महानगरपालिकाको उपप्रमुखमा माओवादी उम्मेदवार बाबुराजा बज्राचार्य पराजित हुने सम्भावना बढ्दै गएको छ । माओवादी नेताहरूले त्यहाँ कांग्रेसबाट धोका पाएको भन्दै गुनासो गर्दै आएका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावारी नगरपालिकामा माओवादीबाट प्रमुख हुने छैन । काठमाडौँको १० र भक्तपुरको चार स्थानीय तहबाट पनि माओवादी प्रमुख पदमा आउने सम्भावना देखिएको छैन ।

जबकि, यस पटक माओवादीले अघिल्लो पटकभन्दा बढी स्थानीय तहमा जित्‍ने सम्भावना छ । माओवादीले १०६ स्थानीय तहमा अघिल्लो पटक निर्वाचन जितेको थियो।

यस पटक भने कम्तीमा ११५ स्थानीय तह जित्‍ने देखिएको छ । तर, काठमाडौँ उपत्यकाको २० ओटामध्ये एउटा पनि स्थानीय तहको नेतृत्व माओवादीले गुमाउने भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति