– टिप्पणी –
सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट नेतृत्व हात पार्न सकेन । नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा पुष्पबहादुर कार्कीको उम्मेदवारी थियो भने माओवादी केन्द्रबाट ज्वालाप्रसाद न्यौपाने थिए ।
अध्यक्षमा कार्कीले २८१ मतले नेकपा एमालेका तर्फबाट उम्मेदवार शंकरराज बरालसँग पराजित हुन पुगे भने माओवादी केन्द्रका न्यौपाने भने एमाले ममता देवकोटालाई ४०४ मतले उछिन्दै विजय हासिल गर्न सफल भए ।
एमालेका बराल ४७४४ मत ल्याएका थिए भने गठबन्धनबाट उम्मेदवार कार्कीले ४४६३ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा न्यौपानेले ४२४२ मत ल्याएका थिए भने एमालेका देवकोटाले ३८३८ मत ल्याएका थिए ।
अध्यक्ष र उपाध्यक्षमा मात्र गठबन्धन गरेका कांग्रेस माओवादीले वडाहरुमा भने स्वतन्त्र रुपमा उठ्ने सहमति गरेका थिए ।
सो सहमतिमा माओवादी केन्द्रकै नेताहरुको असन्तुष्टि थियो । उपाध्यक्षका उम्मेदवार बनेका माओवादीका नेताहरु भने कांग्रेससँग भन्दा पनि एमालेसँग मिलेर अघि बढ्नुपर्छ भन्ने भावनाका साथ अघि बढेका थिए । तर, सत्ता गठबन्धनको निर्णय मान्दै कांग्रेस र माओवादीले पालिका स्तरमा पनि अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका नेतालाई अघि सारेर चुनावी मैदानमा उत्रिए ।
नेपाली कांग्रेसमा पनि बारम्बार पुष्प कार्कीलाई नै किन नेतृत्व ? भन्ने व्यापक असन्तुष्टि थियो । टिकट पाउने दौरानमै गोलञ्जोरका केही कांग्रेस नेताहरु टिकटका लागि ज्ञापनपत्र बुझाउँदै हिडे, अन्ततः कार्कीले नै टिकट पाए ।
टिकट नै ढिलागरी टुंगिएको गठबन्धनले राम्रो चुनावी प्रचार गर्ने, घरदैलो गर्ने मौका पनि पाएनन् ।
एमालेमा पनि अध्यक्षका दावेदार नभएका होइनन् । एमालेमा घोक्सिलाका शंकर बराल र नारायण बराल, तीनकन्याका डण्ड गुरुङ, खुर्कोटका टिका देवकोटा, देउरालीटारका ध्रुव श्रेष्ठ, खनियाखर्कका शंकर लुंगेली लगायत ८ जनाको अध्यक्षमा दावी रहेको थियो । तर, एमालेमा भने पहिला पराजित भएको पीडाले आकांक्षी धेरै भएपनि शुरुमै अध्यक्षको टुंगो लगाएको थियो ।
त्यसपछि चुनावी मैदानमा एमाले होमिएको थियो । एकातिर गठबन्धन थियो भने अर्कोतिर एक्लाएक्लै लड्दा पनि कांग्रेस एक्लैले बहुमतसहित जितेको पालिका थियो । त्यसैले पनि एमालेले धेरै मेहनत गर्नुपर्ने नै थियो ।
पालिका स्तरको बैठकबाट नै अध्यक्ष उम्मेदवारमा शंकर बराललाई अघि सार्ने निर्णय गरेर घरदैलो अभियान सशक्त रुपमा अघि सारिएको थियो । यो त भयो प्रचारात्मक अभियान ।
उपाध्यक्षमा चित्त बुझाउनुुपर्दाको पीडा, विगत ५ वर्ष कांग्रेस नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट माओवादी नेताहरु भने एमालेसँगै नजिक थिए । तर, उपाध्यक्षका उम्मेदवार न्यौपाने भने मतदानको अघिल्लो रातसम्म अध्यक्षका उम्मेदवार कार्की निवासमै बास बसेका थिए ।
कांग्रेस नेताहरुकै असन्तुष्टि, माओवादीमा देखिएको वैचारिक मतभिन्नता लगायतका सवाललाई एमालेले शूक्ष्म विश्लेषण गर्यो । गठबन्धन कांग्रेससँग भए पनि ‘मनवन्धन’ भने एमालेतिरै माओवादीको रह्यो । यो पक्षमा न्यौपाने भने सहमत थिएनन् ।
माओवादीका एक नेता भन्छन्, ‘एमाले र माओवादी मिलेर चुनावमा जानुपर्छ भन्ने हाम्रो अडान थियो, तर केन्द्रीय निर्देशनले बाध्य भएर कांग्रेससँग मिल्नुपर्यो । गठबन्धन कांग्रेसतिर भए पनि मन भने कम्युनिष्टसँगै मिलेर जानुपर्छ भन्ने नै थियो ।’ ती नेताको भनाइलाई आधार मान्ने हो भने परिणामले त्यही देखायो ।
कांग्रेसबाट अध्यक्षका उम्मेदवार कार्कीले पनि पनि अन्तर्घात भएको निष्कर्ष निकालेका छन् । उनले बुधबार बिहान फेसबुकमा लेखेका छन्, ‘भ्रमित गठबन्धन अनेक प्रपन्चहरु लगायत आफ्नै घर भित्रको गद्दार सदस्यहरुका कारण असफलता ब्यहोर्नु परेको कुरा सर्बबिधितै छ ।’
नेपाली कांग्रेसले पहिला पनि एक्लै जितेको, ५ वर्ष कार्की नेतृत्वमा सेवा गरेको लगायतका कामका साथै माओवादीको साथले सहज जितिन्छ भन्ने अनुमान थियो । त्यो हुन सकेन । कतिपय वडाबाट अपेक्षित कम मत आएपछि अध्यक्षका उम्मेदवार कार्कीकै शब्दमा ‘घर भित्रको गद्दार सदस्यहरुका कारण असफलता ब्यहोर्नु परेको’ पुष्टि भएको छ ।
प्रतिक्रिया