माडी नगरपालिकाको मेयरमा एमालेकी तारा र उपमेयरमा कांग्रेसका खेम विजयी

चितवन — चितवनको माडी नगरपालिकाको मेयर पदमा नेकपा एमालेकी ताराकुमारी काजी महतो विजयी भएकी छन् । ताराले सत्तारूढ गठबन्धनबाट उम्मेद्वार रहेका माओवादी केन्द्रका उम्मेद्वार ऋषिराम काफ्लेलाई पराजित गरेकी हुन् ।

उपमेयर पदमा सत्तारूढ गठबन्धनबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका खेमराज महतो विजयी भए । माडीका निर्वाचन अधिकृत चुडामणि शर्मा गौतमका अनुुसार ताराले ९ हजार ९०१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी ऋषिराम काफ्लेले सात हजार ७२९ मत ल्याए । ताराकुमारी काजी महतो यसअघि माडी नगरपालिकाको उपमेयर थिइन् ।

त्यसै गरी उपमेयरमा विजयी खेमराज महतोले ६ हजार ८३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन पौडेलले पाँच हजार १०४ र स्वतन्त्र उम्मेद्वार कृष्णप्रसाद पौडेलले तीन हजार ८६ मत ल्याएको निर्वाचन अधिकृत चुडामणि शर्माले जानकारी दिए ।

माडीमा मेयर उपमेयर पदमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल थियो । माडी नगरपालिकामा नौवटा वडाहरू छन् । वडा नम्बर १ र ८ मा राष्ट्रिय प्रजातन्त्र पार्टी वडा नम्बर २, ४, ५ र ९ मा माओवादी वडा नम्बर ३ र ७ मा नेकपा एकीकृत समाजवादी र वडा नम्बर ६ मा नेकपा एमालेका उम्मेद्वार वडाध्यक्षमा विजयी भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board