मादी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेकाे जीत

पोखरा, ३ जेठ । मादी गाउँपालिका, कास्कीमा नेपाली कांग्रेसका देवीजंग गुरुङ अध्यक्षमा र नेकपा एमालेकी कल्पना गुरुङ उपाध्यक्षमा निर्वाचित भएका छन् ।

मंगलबार दिउँसो आएको अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसका गुरुङले नेकपा एमालेका शिवबहादुर गुरुङलाई ९ सय ३० मत अन्तरले हराए । देवीजंगले ६ हजार ५८४ मतसहित पालिका प्रमुखमा जित निकाल्दा शिवबहादुरले ५ हजार ६५० मत पाएका छन् ।

उपाध्यक्षमा भने नेकपा एमालेकी कल्पना गुरुङ विजयी भएकी छन् । अघिल्लो कार्यकालमा वडासदस्य रहेकी गुरुङले यसपटक पालिका उपप्रमुखमा उम्मेदवारी दिएकी थिइन् ।

कल्पना गुरुङले नेकपा माओवादीका लालबहादुर गुरुङलाई पराजित गरेका हुन् । एमालेकी कल्पनाले ५ हजार ८२८ मत पाउँदा माओवादीका लालबहादुरले ५ हजार ६१६ मत पाएका छन् । मादीमा नेकपा माओवादी र नेपाली कांग्रेसले तालमेल गरेका थिए ।

मादीका १, २, ३, ५ र ११ नम्बर वडामा नेपाली कांग्रेसले तथा ४, ६, ८ र ९ मा नेकपा एमालेले जितेका छन् । वडा नम्बर ७ र १२ मा नेकपा माओवादी विजय भएको छ ।

योसँगै कास्कीका ४ वटै गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । कास्कीको रुपा र अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले, माछापुच्छ्रे र मादीमा नेपाली कांग्रेसले पालिका प्रमुखमा जित निकालेको हो । पोखरा महानगरको भने मतगणना भइरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board