जुम्ला, २७ बैशाख । नेपालगञ्जबाट जुम्ला आउने यती (तारा) एअरको जहाज समयअघि नै यात्रु छोडेर उडेपछि स्थानीय प्रशासनले कारबाहीका लागि सिफारिस गरेको छ ।

जुम्ला आउन नेपालगञ्जबाट टिकट काटेको तर आफूलाई छाडेर जहाज समयअघि नै उडाएको भन्दै गोविन्दबहादुर महतले बाँके प्रशासन कार्यालयमा निवेदन दिएको थियो । निवेदन प्राप्त भएसँगै बाँके प्रशासनले यती एअरलाइन्सलाई कारबाही गर्न नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जलाई पत्राचार गरेको हो ।
चन्दननाथ नगरपालिका ७ का महतले जहाज बोर्डिङ भइसकेपछि आफूलाई छाडेको भन्दै जाँचका लागि बाँके प्रशासनमा निवेदन दिएको बताए । ‘टिकटमा दिउँसो १ बजेको समय दिएको छ तर समयअघि नै जहाज उडाउँदा समस्या भयो । यसबारेमा विमानस्थलका कर्मचारीबाट सहयोग नपाएपछि जिल्ला प्रशासनमा गएको हुँ’, उनले भने ।
नेपालगञ्जमा यती एअरलाइन्सका स्टेशन म्यानेजर दिलिप कार्कीले मौसमका कारण जहाज केही चाँडो उडाइएको बताए । गोविन्दबहादुर महत बोर्डिङ गरेर बाहिर जाँदा छुटेका स्टेशन म्यानेजर कार्कीको भनाइ छ ।
आफू मानव अधिकार तथा सामाजिक रूपान्तरण अभियान (काहुराष्ट) का कार्यरत व्यक्ति भएको र जहाजले छोड्दा चुनावमा पर्यवेक्षकको काम प्रभावित हुन सक्ने बताए ।

प्रतिक्रिया