देशभर विप्लवका ७५६ उम्मेदवार, ५ केन्द्रीय नेता

काठमाडौँ, २७ बैशाख । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पनि सहभागी हुँदैछ। संसदीय व्यवस्थामाथि नै प्रश्न उठाउँदै आएको विप्लव नेतृत्वको समुह २१ फागुन ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग ३ बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा जोडिएको थियो।

निर्वाचनमा सहभागी हुने निर्णय भएसँगै पार्टीका प्रभावशाली मानिएका केही नेतासहितको समूह विभाजित भएको छ। सोमबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै नेता धर्मेन्द्र बाँस्तोलाको नेतृत्वमा ‘नेकपा बहुमत’ को औपचारिक घोषणा गरिएको छ। पत्रकार सम्मेलनमा ‘विप्लवबाट धोका’ भएको निश्कर्ष बास्तोलाले सुनाएका छन्।

उता, विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मंगलबार नै कालिकोटमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टी छाडे हिँडेका नेताहरुले ‘विषवमन’ गरेको आरोप लगाएका छन्।

आन्तरिक किचलो समाधान हुन नसक्दा विभाजित भएको नेकपाका ७५६ जना प्रतिनिधिहरु स्थानीय तह निर्वाचनमा सहभागी हुँदैछन्। जसमध्ये ५ जना पार्टीका केन्द्रीय सदस्य रहेको प्रवक्ता विश्वकर्माको सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार देशभरबाट काठमाडौं महानगरपालिकासहित २८ जनाले मेयर पदका लागि उम्मेदवारी दिएका छन्। त्यस्तै, उपमेयर पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गरेको प्रकाण्ड सचिवालयले जानकारी दिएको छ।

त्यस्तै, अध्यक्ष पदमा ४२, उपाध्यक्ष पदमा ४५ र वडाध्यक्ष पदमा १५० जनाले उम्मेदवारी दिएका छन्। ‘पार्टीको स्पष्ट नीति अनुसार केही ठाउँमा तालमेल पनि भएका छन्।’ प्रकाण्ड सचिवालयले भन्यो, ‘केही ठाउँमा पार्टीका केन्द्रीय सदस्यले पनि उम्मेदवारी दिनुभएको छ।’

गत ४ चैत देखि १४ सम्म कपिलवस्तुमा बसेको केन्द्रीय समितिको बैठकमा स्थानीय तहको निर्वाचनमा सहभागी हुने कि नहुने विषयमा विवाद भएको थियो। चुनावलाई उपयोग गर्नुपर्ने योजनासहित महासचिव विप्लवले ल्याएको राजनीतिक प्रतिवेदन नै फेल भएपछि परिमार्जन गरेर चुनावमा सक्रिय सहभागी नहुने तर, राम्रा उम्मेदवारलाई समर्थन गर्न सकिने निर्णय गरेर बैठक सकिएको थियो।

स्थानीय तहको निर्वाचनमा देशका विभिन्न तहमा स्वतन्त्र उम्मेदवारी परेपछि बैशाख १२ गते धर्मेन्द्र बास्तोलाले विज्ञप्ती जारी गरी मनोनयन दर्ता फिर्ता लिन आग्रह गरेका थिए। पार्टीको हित र निर्णयविपरीत विज्ञप्ती निकालेको भन्दै वैशाख १३ गते विप्लवले बाँस्तोला र वली दुवै नेतालाई कारवाही गरी पदमुक्त गरेका थिए।

प्रवक्ता विश्वकर्माको गृहजिल्ला कालिकोटमा ९ वटा स्थानीय तह छन्। पार्टीको नीति अनुसार सबै स्थानिय तहमा उम्मेदवारी दिइएको प्रकाण्ड निकट नेताले जानकारी दिएका छन्। जसमध्ये, नरहरिनाथ गाउँपालिका अध्यक्षमा एटम बीसी, र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दिएका हुन्।

रास्कोट नगरपालिकाको प्रमुखमा धीरेन्द्रकुमारी उपाध्याय र उपप्रमुखमा फूटटौरा विकले उम्मेदवारी दिएकी छिन्। त्यस्तै पचालझरना गाउँपालिकाको अध्यक्षमा सेक्रेटरी मनिलाल ऐडी र उपाध्यक्षमा विनीत तिरुवाले उम्मेदवारी दिएका छन्।

सान्नीत्रिवेणीको अध्यक्षमा नेकपाकै रूपसिंह बोहरा र व्यासी कामीलगायत चुनावी मैदानमा उत्रिएका छन। कालीकोटकै खाडाचक्रको प्रमुखमा हस्त विक र उपप्रमुखमा शारदा शाही, तिलागुफा नगरपालिकाको प्रमुखमा नरेन्द्र चदारा, उपप्रमुखमा धनराज शाहीले उम्मेदवारी दिएका छन्।

महाबै गाउँपालिकाको अध्यक्षमा धनबहादुर सिंह, पलता गाउँपालिकाको अध्यक्षमा पदमबहादुर विश्वकर्मा र शुभकालिका गाउँपालिकाको अध्यक्षमा मनिष विकले उम्मेदवारी दर्ता गराएका हुन्।

माओवादी जनयुद्धको ‘आधारभूमि’ मानिने रोल्पामा विप्लव नेतृत्वको नेकपाले ६ वटा स्थानिय तहमा उम्मेदवारी दिएको छ। जिल्लाको गंगादेव गाउँपालिका, थबाङ गाउँपालिका, सुनील स्मृति गाउँपालिका, परिवर्तन गाउँपालिका, सुनछहारी गाउँपालिका र लुंग्री गाउँपालिकामा नेकपा विप्लवका नेताहरुले उम्मेदवारी दिएका छन्।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका चूडामणि वलीले गंगादेव गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका हुन्। अन्य पालिकामा उम्मेदवारी दर्ता गरिएकाहरु जिल्ला तहका नेताहरु रहेको नेकपाले जनाएको छ।

महासचिव विप्लवको गृहजिल्लामा पनि नेकपाले उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रँदैछ। शिवराज नगरपालिकाको प्रमुखसहित सोही नगरको वडा नं ९ मा पनि उम्मेदवारी दिएको हो। त्यस्तै जिल्लाको वाणगंगा नगरपालिकाको वडा नं ५ को वडा सदस्यमा पनि नेकपाबाट उम्मेदवारी परेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति