उम्मेदवारको निधन भएका स्थानमा चुनाव अनिश्चित

काठमाडौं, २७ बैशाख । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारको मृत्यु भएको छ । उनीहरुको मृत्युसँगै सो स्थानको चुनाव अनिश्चित बनेको छ ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपप्रमुखका लागि उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी उनलाई हृदयघात भएको थियो । उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको आज निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका लागि एमाले उम्मेदवार लवरु चौधरीको पनि निधन भएको छ । चुनाब प्रचारकै क्रममा विरामी परेपछि उनलाई उपचारका लागि २ पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । त्यहाँ पनि उपचार हुन नसेकेपछि थप उपचारको लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । जहाँ गएराति उनको मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए । उनले यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर काम गरेका थिए ।

यी दुई स्थानमा कहिले निर्वाचन गर्ने भन्नेबारे आयोगले निर्णय गरिसकेको छैन । आयोगले वैशाख ३० मै ती स्थानीय तहमा चुनाव गर्ने वा पछि गर्ने भन्नेबारे निर्णय गर्न बाँकी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘आयोगले अब अर्को कार्यतालिका निकाल्छ । जुन दलको उम्मेदवारको मृत्यु भयो त्यो दलले उम्मेदवारी दिने अवसर त पाउनुपर्‍यो नि । यसबारे आयोगले निर्णय गर्छ’, उनले भने। उम्मेदवारको मृत्यु भएका यी स्थानीय तहमा वैशाख ३० गते नै चुनाव गर्ने वा पछि गर्ने भन्नेमा आयोगले छिट्टै निर्णय गर्ने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति