जिम्बाब्वेविरुद्ध एकदिवसीय सिरिज नेपाललाई

काठमाडौँ । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय इनिङप्रेरित नेपालले सोमबार भएको अन्तिम खेलमा जिम्बावे ‘ए’लाई ६ विकेटले पराजित गर्दै एकदिवसीय शृंखला २–१ ले आफ्नो पक्षमा पारेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालसामु जिम्बावेले ३३ ओभरमा २१४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा आएको नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाएर १७ बल बाँकी रहँदै लक्ष्य पूरा गर्‍यो ।

ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । नेपालका लागि ६१ बलको सामना गरेका कुशलले ७ चौका र ४ छक्कासहित ८४ रनको महत्त्वपूर्ण इनिङ खेले ।

आशिफले ३७ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाएर पेभेलियन फर्किदा सुनिल धमला ६ रन बनाएर आउट भएका थिए ।

यस्तै, दीपेन्द्रसिंह ऐरीले अविजित ६० रनको शानदार इनिङ खेले । उनले विकेटकिपर ब्याटर विनोद भण्डारीसँग चौथो विकेटका लागि अविजित ८४ रनको साझेदारी गरे । छैटौँ नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका विनोद २६ बलमा ३ चौकासहित २८ रन बनाएर अविजित रहे ।

बलिङतर्फ जिम्बावे ‘ए’का लागि ब्रान्डोन माभवुताले ६ ओभरमा ४६ रन खर्चेर सर्वाधिक ३ विकेट लिँदा ब्राड इभान्सले ५ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावे ‘ए’ले टाडिवान्से मरुमानीको अर्धशतक मद्धतमा २१३ रनको योगफल तयार गरेको थियो । त्रिवि क्रिकेट मैदानमा जारी शृंखलाको अन्तिम खेल समयमा सुरु हुन नसक्दा ३३ ओभरमा घटाइएको थियो ।

बिहान ९ः३० बजे हुने तय भएको खेल वर्षाका कारण मैदान चिसो हुँदा १२ः ३० बजे मात्रै सुरु भएको थियो । ढिला गरी सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वे ‘ए’ले ३२.१ ओभरमा विकेट गुमाएर २१३ को योगफल तयार गरेको थियो ।

जिम्बाब्वे ‘ए’का लागि ओपनर मरुमानीले ३१ बलमा ७ चौका २ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए । अर्का ओपनर इनोसेन्ट काया १४ बलमा १२ रन बनाएर पेभेलियन फर्केका थिए ।

यस्तै, कुद्जाई मौञ्जेले ३४ बलमा ४ चौका र २ छक्कासहित ३९ रन बनाएर आउट हुँदा रोय काया ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ बनाएर पेभेलियन फर्के ।

जिम्बाब्वे ‘ए’का कप्तान टोनी मुनयोङ्गा १२ बलमा २ चौका र २ छक्कासहित २४ रनमा आउट भएका थिए ।

यसबाहेक जोनाथन क्याम्पबेल ३, ब्राड इभान्स ७, लुक जोङ्वे १९, ब्रान्डोन माभवुता ६ र सेफस झाओ १६ रन बनाएर आउट भएका थिए ।

नेपालका किशोर महतोले ७ ओभरमा ४३ रन खर्चेर १ मेडनसहित सर्वाधिक ५ विकेट लिए ।

यस्तै, सोमपाल कामीले ७ ओभरमा ४५ रन खर्चेर २ विकेट लिँदा बासिर अहमदले २ ओभरमा ११ रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिँदा करण केसीले ६.१ ओभरमा ४० रन खर्चेर १ विकेट लिए ।

विश्वकप लिग–२ अन्तर्गत अर्को महिना अमेरिकामा हुने त्रिदेशीय शृंखलाको तयारीमा रहेको नेपालले जिम्बावे ‘ए’लाई अभ्यास खेलका लागि नेपाल भ्रमणको निम्तो दिएको हो ।

नेपाल भ्रमणमा रहेको जिम्बावे ‘ए’सँग यसअघि खेलेको टी–२० शृंखला एक खेल वर्षाका कारण रद्द हुँदा १–१ को बराबरीमा सकिएको थियो ।

एकदिवसीय शृंखलाको पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले दोस्रो एकदिवसीयमा नेपालले ९ विकेटको शानदार जित निकालेको थियो ।

आज भएको निर्णायक एकदिवसीयमा ६ विकेटको जित निकालेसँगै नेपालले शृंखला आफ्नो पक्षमा पार्‍यो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board