प्रचारप्रसारलाई अतिरञ्जना नगर्न काउन्सिलको अपिल

काठमाडौँ । प्रेस काउन्सिल नेपालले कुनै दल वा उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न/नगराउन आमसञ्चारसँग अपिल गरेको छ ।

काउन्सिलले कुनै दल वा उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना गर्दा/गराउँदा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताविपरीत हुन गइ आमपाठक, स्रोता र दर्शकमा भ्रम पर्ने भएकाले यस्तो कार्य नगर्न/नगराउन अपिल गरेको हो । काउन्सिलले पत्रकार आचारसंहिता पालनामा थप संवेदनशील हुन सम्पूर्ण सञ्चार माध्यम, पत्रकार र सामाजिक सञ्जालका प्रयोगकर्तामा अनुरोध गरेको छ ।

“आमसञ्चार माध्यममा कुनै राजनीतिक दल, उम्मेदवारको निर्वाचन प्रचारप्रसारका लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन/प्रसारण गर्दा/गराउँदा, सःशुल्क विज्ञापन प्रकाशन/प्रसारण गर्ने क्रममा आचारसंहिताले तोकेअनुसार साइज, समय र पटकलाई ध्यान नदिँदा आमपाठक स्रोतामा भ्रम पर्न गएको छ,” काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्थानीय तह निर्वाचनका क्रममा विसं २०७८ चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता २०७८ लागु भइ काउन्सिलले सोको अनुगमन गरिरहेको छ ।

उक्त निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण तोकिएको छ । आचारसंहितामा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले सकैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने, जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिंग र क्षेत्रबीचको सम्बन्ध र सद्भावमा खलल पार्न नहुने भनी उल्लेख गरिएको छ ।

त्यसैगरी राजनीतिक आस्था वा विचार राष्ट्रियता तथा सामाजिक अवस्थाजस्ता कुनै पनि आधारमा भेदवाभ हुनेगरी समाचार प्रकाशन वा प्रसारण गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारका लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने र निर्वाचन आयोगले तोकेको समयावधिभन्दा बढी नहुने गरी राजनीतिक दल वा उम्मेदवारको निर्वाचनसम्बन्धी विज्ञापन, प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्ने, त्यसरी प्रकाशित विज्ञापनमा सशुल्क भएको जनाउ दिनुपर्ने उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति