धनगढी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशमा स्थिरता र स्थायित्व दिन सक्ने बताएका छन् ।
सो पार्टीद्वारा धनगढीमा आयोजित चुनावी सभामा पूर्वप्रधानमन्त्री ओलीले नेपाललाई विकास र सुशासनको बाटोमा लैजान स्थिरता र स्थायित्वको आवश्यकता रहेकोमा जोड दिँदै एमालेले मात्रै स्थिरता दिन सक्ने बताए । उनले भने,“राष्ट्रियताको संरक्षण र देशमा विकास र समृद्धि ल्याउन सक्ने शक्ति एमाले मात्रै हो ।
अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले रोएपछि कांग्रेसले मञ्च दिएको बताए । पहिलो दिन विराटनगरमा कांग्रेसले बोल्न नदिएको भन्दै चितवनमा बोल्न प्रचण्डले शेरबहादुर देउवालाई गुहारेको उनको भनाइ छ ।
“हिजो उहाँहरुले विराटनगरमा बोल्न पाउनुभएको थिएन । चितवनमा बोल्न शेरबहादुरसँग रुनै पर्यो,” उनले भने, “मेरो छोरीलाई भोट माग्न जाने मै बोल्न नपाउने भनेपछि कमसेकम मञ्चमा जान त पाउनुभयो ।”
माधव नेपाललाई लक्षित गर्दै ओलीले ३० गतेपछि सबैको अवस्था थाहा हुने बताए ।
“एमालेलाई १५ वर्ष चुकेका व्यक्तिले एमालेलाई टर्च बालेर खोज्नुपर्छ भनेर भनेछन्,” उनले भने,“टर्च बाल्नुपर्छ कि पर्दैन धनगढी हेर्न आउनु, ३० गतेपछि थाहा पाउने गर्छौँ कसलाई टर्च बालेर खोज्नुपर्छ ।”
प्रतिक्रिया