मोदीले लुम्बिनीमा चार घण्टा बिताउने

बैशाख २२ , काठमाडौँ । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी तीब्र पारेको छ।बुद्ध जयन्तीका अवसरमा जेठ २ गते लुम्बिनीमा आयोजना हुने विशेष पूजाआजा तथा ध्यानमा मोदी सरिक हुनेछन्।

मोदीले मायादेवी मन्दिरमा डेढ घण्टा पूजाआजामा बिताउनेछन्। जम्माजम्मी ४ घण्टाका लागि मोदी लुम्बिनी आउन लागेका हुन्।

उनको भ्रमणको कार्यतालिकामा काठमाडौं छैन। बुद्ध जयन्तीका अवसरमा हुन लागेको मोदीको एकदिने भ्रमणलाई औपचारिक स्वरुप दिन लागिएको छ।

‘भ्रमणको तयारी चलिरहेको छ। केही दिनमा दुवैतर्फबाट औपचारिक घोषणा हुनेछ’ भ्रमणबारे जानकार एक सरकारी अधिकारीले भने।

देउवाको औपचारिक निमन्त्रणामा मोदी नेपाल आउन लागेका हुन्। गत अप्रिल १ देखि ३ सम्म भएको भारत भ्रमणमा प्रधानमन्त्री देउवाले समकक्षी मोदीलाई निमन्त्रणा गरेका थिए।

मोदी नयाँ दिल्लीबाट उत्तर प्रदेशको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जेठ २ गते मध्यान्ह लुम्बिनी आउनेछन्। भारतले गतवर्ष मात्रै कुशीनगर विमानस्थल सञ्चालनमा ल्याएको थियो।

‘प्रधानमन्त्रीले बुद्ध जयन्तीका लागि मात्रै मोदीलाई निमन्त्रणा दिनुभएको थियो’ ती अधिकारीले भने।

परराष्ट्र मन्त्रालयले मोदीको नेपाल भ्रमणको औपचारिक घोषणा आउँदो साता गर्ने तयारी गरेको छ। भारतीय विदेश मन्त्रालयले पनि भ्रमणबारे केही बताएको छैन।

मोदीको यो चौँथो नेपाल यात्रा हुनेछ। उनी पहिलोपटक सन् २०१४ अगस्टमा नेपाल भ्रमणमा आएका थिए। त्यसपछि सार्क शिखर सम्मेलनमा भाग लिन सोही वर्षको नोभेम्बरमा उनी काठमाडौं आए।

उनको तेश्रो भ्रमण २०१८ मा भयो। नेपालले आयोजना गरेको बिमस्टेक शिखर सम्मेलनमा मोदीले सहभागिता जनाएका थिए।

मोदीले त्यसबेला लुम्बिनी भ्रमण गर्न चाहेपनि सम्भव भएन। भारतीय प्रधानमन्त्री मोदी जनकपुर हुँदै काठमाडौं आएर बिमस्टेक शिखर सम्मेलनमा भाग लिएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति