चितवन कांग्रेसका नेताहरुले प्रचण्डलाई भने-आजभन्दा पाँच वर्ष अघि जस्तै यसपटक पनि धोका नदिनू

काठमाडौँ, २२ बैशाख । नेपाली कांग्रेस चितवनका नेताहरुले २०७४ मा जस्तै जितिसकेपछि एमालेसँग मिलेर आफूहरुलाई धोका नदिन नेकपा माओवादी केन्द्रलाई आग्रह गरेका छन्।

भरतपुरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा नेताहरुले यस्तो बताएका हुन्। कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले हिजोको जस्तो गठबन्धनको नाममा धोका दिए ढाँट्ने काम नगर्न माओवादीलाई चेतावनी दिएका छन्। भरतपुरको केन्द्रीय बस टर्मिनलमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै गर्दै श्रेष्ठले कांग्रेस सभापति शेरबहादुर देउवा ‘सोझो’ भएको भन्दै प्रचण्डको नाम नै लिएर धोका नदिन आग्रह गरे। ‘मैले विनम्रतापूर्वक आरणीय पुष्पकमल दाहाल प्रचण्डलाई भन्नैपर्छ, हाम्रो पार्टीको सोझो सभापति जे बोल्नुहुन्छ, त्यही गर्नुहुन्छ,’ श्रेष्ठले भने, ‘भोलिका दिनमा चुनाव जितिसकेपछि हिजोको जस्तो धोका दिएर ढाँट्ने काम नहोस्।’ ०७४ को निर्वाचनमा पनि आफूहरुले गठबन्धन गरेर जितेको बताउँदै उनले तर तीन महिनामै माओवादीले धोका दिएर एमालेसँग मिलेको गुनासो उनले गरे। तर यो पटक उनले प्रचण्डको नाम नै लिएर पाँच दलीय गठबन्धन टिकाइराखेर प्रतिबद्धता पूरा गर्न आग्रह गरे। ‘जे प्रतिबद्धता आजभन्दा ५ वर्षअघि यहीँ आएर गरेका थियौं, ३ महिनापछि टुट्यो,’ उनले भने,’यो पटक कांग्रेसले दिएको विश्वासलाई धोका दिने काम नहोस्।’ भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी प्रचण्डपुत्री रेनु दाहाललाई जिताउन सिंगो कांग्रेस लागि पर्ने पनि उनले बताए। ‘हामी निर्धक्क छौं, भरतपुर महानगरपालिकामा रेनु दाहाल लगायत सिंगो टिमलाई नेपाली कांग्रेसले जिताउँछ विश्वास दिलाउन चाहन्छु,’ उनले भने।

त्यसैगरी कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले पनि माओवादीले आफूहरुलाई पाँच वर्षअघि दिएको धोकालाई स्मरण गरे।
‘पाँच वर्षअघि माओवादीलाई कांग्रेसले सघाएपछि एमालेतिर मिलेको हामीले भुलेका छैनौँ’, उनले भने, ‘अघि यो कुरा हाम्रा पूर्वसभापति (जितनारायण श्रेष्ठ) ले पनि बताइसक्नु भएको छ। पद प्राप्त भएपछि गठबन्धन भंग हुनु भएन। गठबन्धनको निरन्तरता ग्यारेन्टी चाहिन्छ हामीलाई।’ उनले बागी उठेका कांग्रेस नेता जगन्नाथ पौडेल र अर्का पाका नेता कृष्णप्रसाद सापकोटालाई राखेर छलफल नगरेकोमा केन्द्रीय नेतृत्वसँग रोष प्रकट गरेका छन्। भरतपुरमा आयोजित आमसभामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्दैछन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति