गृहमन्त्री र तिलोत्तमाका कांग्रेस उम्मेदवार खाणविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

बुटवल । गृहमन्त्री बालकृष्ण खाण र तिलोत्तमा नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ ।

तिलोत्तमा नगरपालिका(२ का दिपेश कँडेलले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार उजुरी दर्ता गराएका हुन् । गृहमन्त्री खाणले निर्वाचन आचारसंहिताविपरीत रुपन्देहीको तिलोत्तमामा विभिन्न चुनावी अभियानमा सहभागी भएको उजुरीमा उल्लेख छ ।

गृहमन्त्रीको हैसियतमा सरकारी गाडी प्रयोग गरी खाण तिलोत्तमा नगरपालिका–८ मा कांग्रेसको घरदैलोमा सहभागी भएका थिए । बुधबार तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा उनी घरदैलोमा सहभागी भएका हुन् ।

उम्मेदवार वा कुनै राजनीतिक दलको चुनाव प्रचारमा संघ वा प्रदेश सरकारका मन्त्री वा स्थानीय सरकारका जनप्रतिनिधि सहभागी हुन आचारसंहिताले रोक लगाएको छ । आचारसंहिता विपरित गृहमन्त्री काँग्रेसको चुनावी कार्यक्रममा सहभागी भएका थिए ।

यस्तै कांग्रेस उम्मेदवार खाणले निर्वाचन आचारसंहितविपरीत सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको भन्दै उजुरी परेको हो । आचारसंहिताविपरीत उम्मेदवार खाणको प्रचार सामग्री योगीकुटी सडक किनारमा राखिएको थियो ।

आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्दर्भमा पठाएको पत्रमा प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने उल्लेख छ । त्यस्तो सामाग्री जुन स्थानमा राखिएको छ सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिइ आदेशको बर्खिलाप गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्ने र कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्ने प्रावधान छ ।

तिलोत्तमाका निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध उजुरी परेकाले स्पष्टीकरण सोध्ने तथा निर्वाचन आयोगलाई पनि जानकारी गराउने बताए ।

Avatar
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति