प्रधानमन्त्री देउवा निजी गाडी चढेर पुगे होटल सिराइचुली

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन् । नेपाली कांग्रेसका सभापति देउवा पार्टीका कामका लागि आएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन् ।

प्रधानमन्त्री देउवा यहाँ आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो । कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठको बा३च २०४० नम्बरको ल्यान्डक्रुजर गाडीमा देउवा होटल पुगेका हुन् । श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्दै पार्टी सभापतिसमेत रहेका देउवा झन्डाबिना आफ्नो गाडीमा सवार भएको बताए ।

श्रेष्ठका अनुसार देउवा यहाँ रहँदा पार्टीको व्यवस्थापनमा बस्ने छन् । उनले थपे,“सबै खर्च पार्टीले गर्ने छ ।” सभापति देउवा र उनको समूह रहेको सिराइचुलीका मुख्य सञ्चालक श्रेष्ठ नै हुन् । पार्टी सभापति देउवा आज विराटनगरबाट नेपाली सेनाको एनए०६२ कलसाइन रहेको जहाजबाट आएका हुन् ।

उनका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार सो जहाज नेपाली कांग्रेसले भाडामा ल्याएको हो । उनले भने, “निर्वाचन आयोगसँग अनुमति लिएर पार्टीले भाडामा जहाज ल्याएको हो ।”

जिल्लामा सत्ता गठबन्धनले गर्न लागेको जनसभालाई सम्बोधन गनै देउवा चितवन आएका हुन् । उनीसँगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आज आएका छन् ।

सभालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति