लेखा परीक्षण मर्यादित र व्यवसायिक हुनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यवसायिक लेखा परीक्षण हुनुपर्ने बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आज यहाँ आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखा परीक्षक बिमुख हुन नहुने धारण राखे ।

कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखा परीक्षण गर्ने क्रममा जोड–घटाउमा थोरै मात्र तलमाथि भए राष्ट्रिय अर्थतन्त्रमा नै असर गर्नेतर्फ लेखा परीक्षकहरुलाई ध्यान दिन उनले आग्रह गरे । “जोड गर्नुपर्ने ठाउँमा घटाउन राखियो वा घटाउनुपर्ने ठाउँमा भाग वा गुणा गरियो भने त्यसले (लेखा परीक्षक)ले ख्याल राख्नुहोला,” उनले भने ।

लेखा परीक्षण व्यवसाय अर्थतन्त्रको मूल आधार र समग्र देशको आर्थिक चित्र देखाउने ऐना भएको उनले बताए । “निजी, सरकारी, गैरसरकारी सबै क्षेत्रमा लेखा परीक्षण क्षेत्रले राम्रो भूमिका खेलेको छ,” उनले भने,“लेखा परीक्षण व्यवसायमा अत्यन्तै इमान्दारिता, स्वच्छता र जिम्मेवारी बोधको आवश्यकता छ ।”

उनले वित्तीय अनुशासन कायम गर्न/गराउन लेखा परीक्षकको भूमिका महत्वपूर्ण हुने बताए । उनले लेखा परीक्षण कुनै संस्था वा कम्पनीको हिसाबकिताबमा मात्रै सीमित नभइ समग्र देशको सम्पत्ति मूल्यांकनमा पनि प्रयोग हुनुपर्ने बताए । अर्थमन्त्री शर्माले गरिबी न्यूनीकरणका लागि देशको अर्थ व्यवस्थाको ‘अडिट’ हुनुपर्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति