एक मात्र दलित महिला उम्मेदवार प्रमुख पदमा

म्याग्दी, २० बैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार छन्।

नेकपा (माओवादी केन्द्र) ले मीना विश्वकर्मालाई रघुगंगा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको हो। रघुगंगा–६ की २८ वर्षीय मीना दुधे बच्चा बोकेर चुनावी मैदानमा होमिएकी हुन्। नेकपा (माओवादी केन्द्र) को रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले स्थानीय तहको प्रमुख पदमा उम्मेदवार बन्‍ने विश्वकर्मा धौलागिरि क्षेत्रकै एक मात्र दलित महिला भएको जानकारी दिए। “म के गाउँपालिकाको अध्यक्ष बन्न सक्दिन ररु’, मीनाले हरेकजसो सभा र भेलामा भन्छिन्,‘यो हाम्रो समुदायको लागि अवसरसँगै चुनौती पनि हो। हामी कति दिन अरुको भोट बैंक बन्ने । नेतृत्व गर्ने अवसर पाए गरेर पनि देखाउँछु।’ गाउँपालिका अध्यक्ष जितेमा आफ्नो समुदायको उत्थानको साथै अन्य समुदायका गरिब विपन्नको समस्याप्रति ध्यान दिने उनको भनाइ छ। मीनाको आत्मविश्वास र साहसबाट प्रभावित भएको माओवादीका गण्डकी प्रदेश सदस्य रहेका प्रदेशसभा सदस्य विनोद केसीले बताए। मीनाले दलित समुदायले भोग्दै आएको विभेद र उत्पीडनको समस्याको बारेमा भावुक शैलीमा अभिव्यक्ति दिँदा भाषण सुन्‍न गएकाको आँखा रसाउने गर्छन्। उत्पीडनको आवाज बोकेर चुनावी मैदानमा उत्रिएकी उनको प्रतिस्पर्धीको रूपमा एमालेका प्रेमबहादुर कार्की र नेपाली कांग्रेसका भवबहादुर भण्डारी छन्। गाउँपालिका उपाध्यक्षमा एमालेले यामकुमारी गर्बुजा, कांग्रेसले प्रेमकुमारी पुन र माओवादीले रिमबहादुर कटुवाललाई उम्मेदवार बनाएको छ। रघुगंगामा निर्वाचित हुने ४२ पदका लागि १३५ चुनावी मैदानमा रहेका सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताए।

बेनी नगरपालिका–१० पात्लेखेत माइती भएको मीनाको कक्षा १० पढ्दै गर्दा १७ वर्षको उमेरमा मागी विवाह भएको थियो। अनेरास्ववियु क्रान्तिकारी र वाइसीएलमा आबद्ध भएकी उनी विवाहपछि राजनीतिमा निष्क्रिय भएकी थिइन्। गाउँमै खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आएकी मीना पछिल्लो समय पार्टीसँग सम्बद्ध भएर उम्मेदवार बनेकी हुन्। उनका जेठा छोरा १० वर्षका छन्। दुई वर्षका छोरा बोकेर भोट माग्न घरदैलो अभियानमा उनी व्यस्त छन्। मिनाका श्रीमान् पनि सँगै चुनाव प्रचारमा छन्। प्रमुख पदमा मीनासहित म्याग्दीमा तीन महिला उम्मेदवार छन्। धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मिनाकुमारी शर्मा उम्मेदवार बनेका छन्। माओवादी केन्द्रले मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ। दलित समुदायबाट प्रमुख पदमा टेकबहादुर र मीना दुई मात्र उम्मेदवार हुँदैछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति