राजु लामाकाे विश्व कीर्तिमानः विश्वकै सर्वाधिक उचाइमा कन्सर्ट

काठमाडौं, २० बैशाख । जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक राजु लामाले ६ हजार ५७४ मिटर उचाइमा कन्सर्ट गरेका छन् । सगरमाथाको क्याम्प-३ पुगेर लामाले मंगोलियन हार्ट ब्याण्डका चर्चित गीतहरु गाए ।

जलवायु परिवर्तनको संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद्ले जोखिम ल्याएकोबारे सन्देश दिन कन्सर्ट गरेको राजुले बताए । राजुको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम समेत हो । यसअघि बेलायती गायक ओज बेल्डोनले १६ मे २०१२ मा मेरापिक हिमालको ६ हजार ४७६ मिटर उचाइमा कन्सर्टको गिनिज विश्व रेकर्ड राखेका थिए । मंगोलियन हार्टको यो कन्सर्टसँगै बेलायती गायकको अघिल्लो कीर्तिमान पनि तोडिएको छ । ‘मेरा लागि कीर्तिमान सेकेण्डरी हो । मुख्य कुरा जलवायु संकटविरुद्धको सन्देश दिन मैले कन्सर्ट गरेको हुँ,’ सगरमाथा आधार शिविरबाट राजुले भने, ‘सानो काम नै किन नहोस्, पृथ्वीलाई भावी सन्ततिको लागि बाँच्ने राम्रो ग्रहको रुपमा हामीले विकास गर्नुपर्छ ।’ ग्लोबल वार्मिङ र जलवायु परिवर्तनजस्ता संकट सिर्जना हुनुमा १० प्रतिशत मानवीय प्रवृत्ति जिम्मेवार रहेको उनले बताए । ‘व्यक्तिगत रुपमा कार्बन उत्सर्जनलाई घटाएर हिमाल जोगाउने र सन्देश दिने मेरो उद्देश्य हो,’ उनले भने । गिटार लिएर क्याम्प-३ पुगेका राजुले त्यहाँ रिलिज नभइसकेको आफ्नो नयाँ गीत ‘हिमालले डाक्यो मलाई’ गाए । सार्वजनिक नभइसकेको यो गीतलाई रिलिज गर्ने तयारी भइरहेको र ८० प्रतिशत भिडियो छायांकन भइसकेको उनले जानकारी दिए । यो गीतले जलवायु परिवर्तनविरुद्धको सन्देश दिने लामा बताउँछन् । उक्त कन्सर्टमा राजुले ब्याण्डका अन्य चर्चित गीत पनि गाएका थिए । ‘यो उचाइमा गाउन त धेरै गाह्रो भएन हल्का सास फेर्न कठिन भयो,’ उनले भने, ‘किनभने मेरा गीतहरु तानेर गाउनुपर्ने छन् । हल्का ब्रेक गर्दै गाएँ ।’ राजु अहिले सगरमाथा चुचुरोमा पुग्ने अभियानमा छन् । साउथ पोलमा शेर्पाहरुले बाटो बनाएपछि आफू त्यसतर्फ अघि बढ्ने उनको योजना छ । उनले शेर्पाहरुको योगदानप्रति समेत आभार व्यक्त गरे । ‘मैले शेर्पाहरुको योगदान सुनेको मात्र थिएँ, तर अहिले आँखाले देखें,’ उनले भने । सगरमाथा आरोहणपछि फर्किएर वृक्षारोपण अभियानमा सहभागी हुने राजुको योजना छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति