एआईजी थापा काममा फर्किए

काठमाडौं, २० बैशाख । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा काममा फर्किएका छन् । उनी सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै विदामा बसेका थिए ।

तेस्रो नम्बर वरीयताका एआईजी आईजीपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले विदा लिएका थिए । पोखरेलको एक महिना र थापाको १० दिन विदा निवर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले स्वीकृत गरिदिएका थिए ।तर सोमबार गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसँग भेट गरेपछि उनी काममा फर्किन सहमत भएका हुन् ।

निर्वाचन सेलको कमाण्डर रहेका थापा चुनावको मुखमा विदा बस्दा असर पुग्ने निष्कर्षसहित उनलाई काममा फर्किन भनिएको थियो ।एआईजी थापाका अनुसार बुधबारबाट उनले प्रहरी प्रधान कार्यालयको कार्य विभाग हाजिर गर्नेछन् । मंगलबार सार्वजनिक विदा भएकाले घरबाट निर्वाचनसम्बन्धी नियमित रिपोर्टिङ लिइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । स्रोतले भन्यो, ‘सरकारी विदा भएकाले उहाँ आज कार्यालय आउनु भएन, तर घरबाटै नियमित रिपोर्टिङ लिने र ब्रिफिङ गर्ने काम गरिरहनु भएको छ ।’एआईजी पोखरेलले चाहिँ सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट निवेदन दिएका छन् । रिटमाथि बुधबार सुनुवाइ हुँदैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति