उपयोगविहीन लामिडाँडा विमानस्थल

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामिडाँडास्थित लामिडाँडा विमानस्थल उपयोग विहीन बनेको छ । कालोपत्र गरेपछि ३ असार २०७६ मा सफल परीक्षण उडान भरिएको लामिडाँडा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमित उडानको व्यवस्था गर्न नसकेको हो । खोटाङका तीन ओटा विमानस्थलमध्ये लामिडाँडा विमानस्थल सबैभन्दा पुरानो विमानस्थल हो । कालोपत्रे भएको लामिडाँडा विमानस्थल परीक्षण उडानमै सीमित भएपछि स्थानीय निराश छन् ।

साबिकको सदरमुकाम दिक्तेल नजिकै मनमाया राई खानीडाँडा विमानस्थल सञ्चालनमा आएपछि लामिडाँडा विमानस्थल बन्दजस्तै बन्न पुगेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा रहेको खानीडाँडा विमानस्थलमा बेलाबेला उडान भइरहँदा लामिडाँडा विमानस्थल सुनसान छ ।

कालोपत्र गर्नु अगाडि उडान हुँदैआएको लामिडाँडा विमानस्थलमा कालोपत्रपछि भने उडान रोकिएको हो । सेड्युलमा उडान नहुँदा र यात्रु नपाउँदा लामिडाँडामा उडान रोकिएको स्थानीय युवा नेता खेमराज देउसाली बताउँछन् ।

‘हप्तामा एक दिन सेड्युल हुने । सेड्युल भएका दिन पनि उडान नहुने । जहाज पर्खंदा कति बिरामीले ज्यान गुमाए,’ देउसालीले भने, ‘उडान हुने भनेको दिन उडान नभएपछि धेरैपल्ट यात्रु ढाँटिए, बिस्तारै यात्रु घटे । त्यसपछि उडान नै रोकिएको हो ।’

हिजोआज कच्ची सडक बनेपछि गाउँ गाउँमा यात्रुवाहक सवारी साधन पुग्ने वातावरण बनेको छ । लामिडाँडा विमानस्थलबाट आधा घन्टामाथि उक्लिएपछि मध्य पहाडी लोकमार्ग भेटिन्छ । अधिकांश स्थानीले सडक सवारी साधनबाटै यात्रा गर्न थाले । सडक यातायातको पहुँच विस्तारका कारण पनि लामिडाँडा विमानस्थलमा उडान नभएको स्थानीय बताउँछन् ।

२०२८ सालदेखि सञ्चालनमा आएको लामिडाँडा विमानस्थलमा उडान नहुँदा रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिका, ओखलढुंगाको कुइभीर र सोलुखुम्बुका केही स्थानका स्थानीय बढी मारमा परेका छन् ।

होटेलमा लाग्यो ताला
खानीडाँडा विमानस्थल र खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थल सञ्चालनमा आउनु अगाडि लामिडाँडा विमानस्थल जिल्लाको एक मात्र हवाई यात्राको माध्यम थियो । लामिडाँडामा दैनिक यात्रुको घुइँचो लाग्ने गरेको थियो । होटेल तथा व्यापार व्यवसाय फस्टाउँदो थियो ।

होटेलबाट स्थानीय व्यवसायीले राम्रो आम्दानी गर्दैआएका थिए । तर, उडान हुन छाडेपछि लामिडाँडाका दर्जनौँ होटेलमा ताला लागेको छ । लामिडाँडा विमानस्थलमा उडान नहुँदा यातायात, पर्यटन, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा असर परिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board