गठबन्धनमा कलह छ, रुपन्देहीमा पहिलाका ८ भन्दा बढी जित्छौँ : तेजेन्द्र केसी

स्थानीय तहको निर्वाचन नजिकै आइरहँदा रुपन्देहीमा दलहरुले चुनावी गतिविधि तीव्र बनाएका छन् । रुपन्देहीको कुरा गर्ने हो भने गत निर्वाचनमा जिल्लाका १६ वटा स्थानीय तहमध्ये आठवटामा एमालेले एक्लै जित हासिल गरेको थियो । अहिले एमालेको जिल्ला कमिटीको नेतृत्व युवा नेता तेजेन्द्र केसीले गरिरहेका छन् । जिल्ला अध्यक्ष केसीले अहिले सिंगो रुपन्देही जिल्लाको चुनावी अभियानलाई अगाडि बढाइरहेका छन् ।

यसपटकको स्थानीय निर्वाचन एमालेका लागि कत्तिको जटिल चुनौतीपूर्ण छ भन्ने विषयमा एमाले रुपन्देहीका अध्यक्ष केसीसँग लक्ष्मण पौडेलले गरेको कुराकानीको सम्पादित अंशः

स्थानीय तहको चुनावी अभियानमा हुनुहुन्छ । समग्र रुपन्देहीको अवस्था कस्तो पाउनुभएको छ ?
नेकपा (एमाले)को समग्र जिल्लाको अवस्था भनेको अत्यन्त राम्रो छ । हामी स्थानीय तहको चुनावमा अहिले १६ ओटै पालिकामा हाम्रा निर्वाचन परिचालन कमिटी तथा त्यसभन्दा माथि निर्देशन कमिटी, आर्थिक कमिटी, स्वयंसेवक परिचालन कमिटीलगायत चुनाव केन्द्रित विभिन्न कमिटीहरु बनेका छन् । र हामी युद्धस्तरमा चुनावी तयारीमा जुटेका छौँ । जिल्लाका १६ ओटै पालिकामा एमालेको उत्साहजनक सहभागिता छ । अहिले हाम्रा उम्मेदवारहरु घरदैलो कार्यक्रममा हुनुहुन्छ । सबै कमिटीहरुले आफ्नो जिम्मेवारीको काम अगाडि बढाइरहेका छन् ।

गएको स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाका आठवटा पालिका जितेको थियो । अहिले त्यो कायम रहन्छ ?
स्वाभाविक छ कि हामी पहिलेको चुनावमा भन्दा अहिलेको चुनावमा विजय हासिल गर्ने स्थानीय तहको संख्या बढाउँछौँ । अहिले खासगरी दक्षिणतिर एमालेको प्रभाव अत्यन्तै उत्साहजनक देखिएको छ । र, हामी चाहिँ दक्षिणी क्षेत्रमा समेत विजय हासिल गर्ने योजनाका साथ अगाडि बढेका छौँ । यसअघि जितेका स्थानीय तहमा त हामीले स्वाभाविकरुपले अत्यधिक मतका साथ विजय हासिल गर्छौँ । र, हामी थप ठाउँमा समेत विजय हासिल गरेर हामी पहिलेको चुनावमा भन्दा राम्रो परिणाम ल्याउँछौँ । अहिले एमालेमा धेरै मानिसहरु प्रवेश गरेको अवस्था छ । त्यो प्रवेशका कारणले पनि एमालेको अवस्था सुदृढ रहेको देखाउँछ । र सबै पार्टी भन्दा शक्तिशाली पार्टीको रुपमा स्थापित छ ।

पार्टीभित्र असन्तुष्टि पनि त होला नि होइन ?
असन्तुष्टि हुनु स्वाभिक हो । असन्तुष्टिहरुलाई हामीले व्यवस्थापन गरिसकेका छौँ । नीतिगत रुपमा, सैद्धान्तिक रुपमा असहमति केही थिएनन् । कतिपय साथीहरुले जिम्मेवारी लिने कुरामा केही व्यक्तिगत असन्तुष्टि थियो । हामीसँग एउटा सीमा छ । त्यो सीमाभन्दा बाहिर हामी जान मिल्दैन । एउटा पालिकामा एउटा मेयर हुन्छ, एउटा उपमेयर हुन्छ । त्यहाँ आकांक्षी धेरै हुन सक्छन् । त्यसमध्येको एउटा निर्णय पार्टीले गर्ने हो । पार्टीले फैसला गरिसकेको छ । त्यो फैसलालाई सबै साथीहरुले बोकेर हिँड्नुभएको छ । भएका कमी कमजोरीहरुलाई हामी चुनावपछि समीक्षा गर्ने छौँ । जहाँ कमी कमजोरी भएका छन्, तिनी कमी कमजोरीलाई पार्टीले आत्मसाथ गर्ने छ । जो उम्मेदवारका आकांक्षी हुनुहुन्थ्यो । उहाँहरु सबै पार्टी काममा लागि सक्नुभएको छ ।

गत स्थानीय तहको चुनावभन्दा धेरै स्थानमा जित्छौँ भन्नुभयो । जित्ने आधारहरु चाहिँ के छन् ?
हामीसँग प्रशस्त एजेन्डा छन् । पार्टीका अध्यक्ष केपी ओलीले सुरु गर्नुभएका विकास आयोजना तथा कार्यक्रमहरु स्थानीय तहमा एमालेको नेतृत्व नहुने हो भने अलपत्र पर्छन् । हामीले जितेका ठाउँमा विकासको जुन जग बसाल्ने काम भएको छ, त्यो जग हल्लिन्छ । त्यसकारण हाम्रा सबै जनतासित गाँसिएका धेरै एजेण्डाहरु छन् । त्यसकारण एमालेको विजय अनिवार्य छ ।

जिल्लामा पार्टीको नेतृत्वमा बसेर काम गर्दा चुनावमा देखिने सफलता वा असफलताले तपाईंको भूमिकाको पनि मूल्यांकन होला नै हैन ?
हाम्रो पार्टी संस्थागत ढंगले अगाडि बढ्दै आएको छ । नेतृत्व गौण कुरा हो । हामीले यसलाई व्यक्तिगत भन्दा पनि संस्थागत ढंगले सोचेर मूल्यांकन गर्ने परिपाटीको विकास गर्नुपर्छ । नेकपा (एमाले)को रुपन्देही जिल्लामा जुन सांगठनिक सञ्जाल छ । एमालेका जति कार्यकर्ता, समर्थक, शुभेच्छुकहरु छन् । यी सबै कारणले गर्दाखेरि हामी रुपन्देहीमा अत्यधिक मतले जित्छौँ ।

यहाँ चाहिँ हाम्रो पार्टीका थुप्रै नेताहरु हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा जोडिनुभएका हाम्रो पार्टीका उपाध्यक्ष विष्णु पौडेल यसै जिल्लाको हुनुहुन्छ । उहाँहरुले समृद्धिको अभियानलाई अगाडि बढाउनुभएको छ । रुपन्देही जिल्लालाई विकासको मोडल बनाउनुभएको छ । विकास कस्तो हुन्छ रुपन्देही जिल्लामा गएर हेर्नुपर्छ भनेर अन्तका मानिसहरुले भन्ने गर्छन् । यसको नेतृत्व नेकपा एमालेले गरेको छ । यहाँका जनताले त्यो कुरा बुझेका छन् । यसकारण रुपन्देहीका अधिकांश स्थानीय तहमा एमालेको शानदार ढंगले जित हासिल हुन्छ ।

देशव्यापी सत्तारुढ गठबन्धन्धनविरुद्ध धेरैजसो ठाउँमा एमाले एक्लै छ । रुपन्देहीमा गठबन्धनको चुनौती कस्तो छ ?
विश्वमै हेर्ने हो भने सत्ताको विपक्षमा प्रतिपक्षी पार्टी हुन्छन् । तर नेपालमा प्रमुख प्रतिपक्षी दललाई उक्त दल बलियो भयो, शक्तिशाली भयो भनेर सत्ताको गठबन्धन गरिएको छ । यो बडो अचम्मको परिघटना छ । त्यसकारण रुपन्देही जिल्लामा सत्ता गठबन्धनको केही प्रभाव छैन । सत्ता गठबन्धन आफैभित्र असन्तुष्टी, निराशा, कुण्ठा बोकेर हिंडिरहेको छ । एमालेको पंक्ति सही दिशामा अगाडि बढिरहेको छ ।

तपाई पनि बुटवलमा मेयरको आकांक्षी हुनुहुन्थ्यो । तपाईंका पनि केही असनतुष्टि छन् कि ?
कुनै असन्तुष्टि छैन । नेकपा (एमाले)को संस्थागत फैसलालाई मैले जहिले पनि बोकेर हिँड्ने गरेको छु । एमालेको नीति र नेतृत्वप्रति सधैँभरि उत्तरदायी भएर पार्टीका हरेक फैसलालाई बोकेर हिँड्ने मान्छे हुँ । मलाई त्यसमा कुनै पनि असन्तुष्टि छैन । म मात्रै होइन, कुनै पनि आकांक्षी साथीहरुले चित्त दुःखाएर हिँड्नुभएको छैन । सबै चुनावी अभियानमा जोडिनुभएको छ । यो नै हाम्रो विजयको आधार हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board