गोपाललाई ‘आँप’, बालेनलाई ‘लौरो’ र पौडेललाई ‘भुईँ कटहर’ निर्वाचन चिह्न

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयहरूबाट उम्मेदवारहरूलाई निर्वाचन चिह्न दिन थालेको छ ।

दलको आधिकारिक उम्मेदवारले दलकै निर्वाचन चिह्न पाउँदा स्वतन्त्र वा बागी उम्मेदवारले भने आयोगले यसअघि तय गरेको ४० प्रकारका चिह्नमध्येबाट पाइरहेका छन् ।

निर्वाचनमा सर्वाधिक चर्चा भएको भरतपुर महागरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले भुईँ कटहर निर्वाचन चिह्न पाएका छन् । उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले आज उक्त निर्वाचन चिह्न प्रदान गरेको हो ।

यही चिन्हबाट लिएर उनी निर्वाचन अभियानमा जुट्ने भएका छन् ।

भरतपुर महानगरपालिका पाँच दलीय गठबन्धनबीच तालमेलको क्रममा नेकपा (माओवादी केन्द्र)लाई परेपछि उनी असन्तुष्ट हुँदा बागी उम्मेदवार बनेका हुन् । उनलाई कांग्रेसले शुक्रबार साधारण सदस्यबाट समेत हटाएको छ ।

उनले विपीको आदर्श र भरतपुरमा रहेका कांग्रेसीजनको निष्ठालाई अंगाल्दै भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी रहेको स्पष्ट पारेका छन् ।

उनलाई पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पटक पटक बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, उनले मानेनन् र उम्मेदवार भएरै छाडे ।

अब ३० वैशाखमा हुने निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको भुईँ कटहर चिह्न लिएर सहभागी हुने भएका छन् ।

यस्तै, काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र तर्फबाट उम्मेदवार बनेका बालेन्द्र शाह ‘बालेन’ले भने निर्वाचन चिह्न ‘लौरो’ पाएका छन् । चर्चित र्‍यापर उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त चिह्न आज प्रदान गरेको हो ।

धनगढीको उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार गोपाल हमालले ‘आँप’ चुनाव चिह्न पाएका छन् ।

प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका उमेश यादव र उपप्रमुख पदमा उम्मेदवार बनेकी नमिता न्यौपानेले ‘लालटिन’ चिह्न पाएका छन् ।

आयोगले अन्य स्थानीय तहका स्वतन्त्र उम्मेदवारहरूलाई पनि ४० वटामध्येबाटै निर्वाचन चिह्न प्रदान गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति