गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाइ हुने

काठमाडौँ, १५ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज (शुक्रबार) सुनुवाइ हुने भएको छ ।

बिहीबार सुनुवाइ नसकिएकाले उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको हो ।

न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा यही वैशाख १३ गते सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बिहीबारका लागि तय भएको थियो । बिहीबार पनि नभ्याइएकाले शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

गभर्नर अधिकारीले बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको उल्लेख गर्दै उक्त निर्णय खारेज गर्न आदेश माग गर्दै यही वैशाख ४ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

यसअघि, न्यायाधीश हरिप्रसाद फुयालको यही वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सो आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा सुनुवाइ भइरहेको छ ।

मन्त्रिपरिषद्को गत चैत २५ गतेको बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो । जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वतः निलम्बनमा परेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board