गगनलाई ओलीको जबाफ : ट्युसन पढाउँछु भन्नेले हाम्रा भाइबहिनीसँग बहस गरेर देखाऊ

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणा पत्र र उम्मेदवारबारे खुला बहसमा आउन नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूलाई ट्युसन पढाउँछु भन्ने कांग्रेस महामन्त्री थापालाई ‘एमालेका भाइबहिनीसँग बहस गर्न’ चुनौती दिएका छन् ।

“नेकपा (एमाले)को घोषणा पत्र र उम्मेदवारबारे बहसमा उत्रन कोही ट्युसन क्लास चलाउँछु भन्नेहरु तयार छन् भने हामी तयार छौँ । भर्खर भर्खर पास गरेका भाइबहिनी भिडाइदिन्छौँ, बहस गरेर आउनु,” उनले भने ।

नेपाली कांग्रेस गन्तव्यहीन पार्टीका रुपमा स्थापित भएको भन्दै अध्यक्ष ओलीले कांग्रेसको हालत देख्दा आफूलाई टीठ लागेको बताए ।

अध्यक्ष ओलीले निर्वाचनको बेला उम्मेदवारको चरित्र हत्या गर्न ‘मिटु’ अभियान ल्याउने गरिएको टिप्पणी गरे । “मिटु कतिबेला आउँछ भन्दा चुनाव आयो कि मिटु आउँछ । यस्ताबेलामा चरित्र हत्याका कुरा आउँछन् । मिटुको के जबाफ हुन्छ ? हामी यस्ता कुरामा होइन महान् विषयमा अगाडि बढेका छौँ,” उनले भने ।

काठमाडौँ महानगरमा एमालेका तर्फबाट उम्मेदवार केशव स्थापितमाथि ‘महिला हिंसा’को आरोप अगाइएको सन्दर्भमा धारण राख्दै ओलीले चुनावका बेला चरित्र हत्याको प्रयास गरिएको भन्दै भ्रमपूर्ण प्रचारलाई निस्तेज पार्नुपर्ने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board