काठमाडौं, १५ बैशाख । हाल सरकारले आयातमा गरेकाे कडाई गरेकाे छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष आर.के शर्माले विदेशबाट आउने रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।
आर्थिक संकट हटाउनका लागि समेत रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ छ । विदेशमा दुःख गरेको रकम उत्पादन मूलक क्षेत्रमा लगानी नगर्दा अहिले आर्थिक संकट आएको उनले बताए । ‘साइकल किनेर पनि समस्या समाधान हुने अवस्थामा समेत नेपालीमा स्कुटर किन्ने बाँनी बनेको र यो अनुत्पादक कार्यले राज्य र व्यक्ति दुवैलाई नोक्सानी गरिरहेको छ,’ शर्माले भने । युवाअवस्था विदेशमा कमाएको पैसा त्यहीँ खर्च गर्ने र पछि रकम जम्मा नभएको अवस्थामा स्वदेश फर्किएपछि श्रमिकले दुःख पाउने अवस्था देखिएको उनले बताए । सरकारले रेमिट्यान्समार्फत् भित्रिएको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानीका लागि वातावरण निर्माण गर्नुपर्नेमा शर्माले जोड दिए । ‘अहिले रेमिट्यान्स अवैधानिक तवरबाट आएको भन्ने कुरा पनि सुनिन्छ, त्यसलाई रोक्न सरकारले योजना ल्याउनुपर्छ,’ उपाध्यक्ष शर्माले भने । विदेशबाट आएको रकम मसिनो चामल, लुगा कपडाका लागि विदेशनै गइरहेको भन्दै यसलाई रोक्न सरकारले कदम चाल्नुपर्ने उनको सुझाव छ । ग्यास किन्न खर्चिने रकम जोगाउन इन्डक्सन (विद्युतीय) चुलोमा प्रोत्साहन दिनुपर्ने उनले बताए । ग्यासलाई मात्रै प्रतिस्थापन गर्न सकेमा २० अर्ब रकम जोगिने उनको दाबी छ । ‘बैंकहरूलाई एक डलर भित्र्याएबापत २८ पैसा प्रिमियम दिने गरेको छ । बैंकलाई दिने २८ पैसाबाट १४ पैसा कटाएर श्रमिकको स्वास्थ्य तथा जीवन बिमा तथा स्वदेश फर्किंदा टिकट उपलब्ध गराउनेजस्ता योजना ल्याउन सकेको खण्डमा अवैधानिकरूपमा आउने रेमिट्यान्स पनि वैध बाटोबाट आउनसक्छ,’ उपाध्यक्ष शर्माले भने । वैधानिक च्यानलबाट रेमिट्यान्स आउँदा त्यसले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । यसैबीच, उपाध्यक्ष शर्माले नेपालबाट विदेश गएकामध्ये ९८ प्रतिशत बाध्यताले विदेश जाने गरेको बताएका छन् । ९९ प्रतिशत नेपाली देशका विकास भएको हर्ने आतुर रहेको भन्दै विदेशबाट आएको रकमक देश विकासमा लगाउने योजना ल्याउने कार्यमा सरकारले ध्यान दिनु पर्ने उनको भनाई छ । विदेशबाट पठाएको रकममध्ये कम्तिमा १० प्रतिशत रकमलाई सरकारले लगानिमा रुपान्तरण गर्न सक्नु पर्ने शर्माले बताए ।
प्रतिक्रिया