खोटाङमा चार नेतृ प्रमुखको प्रतिस्पर्धामा

खोटाङ । खोटाङमा चार स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाइएको छ । समावेशिताको बखान गरे पनि जिल्लाका १० स्थानीय तहमध्ये चार स्थानीय तहमा चार महिलालाई प्रमुखको उम्मेदवार बनाइएको हो ।

नेकपा (एमाले)ले दुई, कांग्रेसले एक र नेकपा (माओवादी केन्द्र)ले एक महिलालाई पालिका प्रमुखको उम्मेदवारका रूपमा अघि सारेको छ ।

एमालेले खोटेहाङ गाउँपालिकामा कविता राई र बराहपोखरी गाउँपालिकामा गोमा मगरलाई प्रमुखको उम्मेदवार बनाएको हो । प्रमुखको उम्मेदवारमा सिफारिसमा परेका राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा विजयी भएकी थिइन् । यस्तै, अघिल्लो निर्वाचनबाट उपप्रमुखमा निर्वाचित भएकी मगरलाई यसपल्ट प्रमुखमा लड्ने अवसर मिलेको हो ।

यस्तै, हलेसी तवाचुङ नगरपालिकाको मेयरमा कांग्रेसबाट विमला राईको मनोनयन दर्ता भएको छ । यसअघि उपमेयरमा निर्वाचित भएकी उनलाई यसपल्ट पार्टीले मेयरको उम्मेदवारका रूपमा अघि सारेको हो ।

२०७४ सालको स्थानीय तहमा पाँच स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाएको माओवादी केन्द्रले यसपल्ट भने जन्तेढुंगा गाउँपालिकामा मात्र महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ । जन्तेढुंगामा गठबन्धनले माओवादी केन्द्रकी अरुणादेबी राईलाई प्रमुखको उम्मेदवारका रूपमा अघि सारेको हो । माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा पनि अरुणादेबीलाई प्रमुखको उम्मेदवार बनाएको थियो ।

१० स्थानीय तहमा कुल १ हजार ३३० जनाको मनोनयन दर्ता हुँदा ७९ महिला वडा सदस्यका लागि २३४ र ७९ दलित महिला सदस्यका लागि २२२ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति