पूर्ववर्ती सरकारको गलत नीतिका कारण अर्थतन्त्रमा समस्या देखियो : देव गुरुङ

काठमाडौँ, १४ वैशाख । नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले अहिलेको आर्थिक संकट देखा पर्नुमा अघिल्लो सरकारका गलत नीति नै जिम्मेवार रहेको बताएका छन् ।

मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा नेता गुरुङले गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको कारबाहीको पक्षमा आफ्नो पार्टी रहेको बताए । उनले सरकारको निर्णयप्रति पार्टीको समर्थन रहेको बताए । उनले अहिले देखापरेको अर्थतन्त्रको समस्या रातारात नभएर विगतमा सरकारका नीतिका कारण भएकोमा जोड दिए ।

“पार्टी पनि सरकारले गरेको पक्षमा छ, सरकारले गरेको निर्णयमा पार्टीको समर्थन छ । कारबाही गर्ने समय र परिस्थितिबारे त सरकारले अवश्य पनि सोचेरै गरेको होला, त्यो सरकारले मूल्याङ्कन गरेको होला,” उनले भने । उनले वित्तीय एकाधिकार दलाल पुँजीवादका कारण अर्थतन्त्रमा समस्या देखापरेको बताए ।

खुला बजार अर्थतन्त्र, निजीकरण, उदारीकरण चिन्तनले कृषिलगायत राष्ट्रिय उद्योग विस्थापन हुनुको साटो वित्तीय एकाधिकार पुँजीमा भर पर्नुपर्ने अवस्था देशमा सिर्जना भएको उल्लेख गर्दै गुरुङले परनिर्भरता बढ्दै गएको बताए । उनले परनिर्भरतालाई न्यूनीकरण गर्दै आत्मनिर्भर बनाउने राज्यको भूमिका हुनुपर्ने तर त्यो विगतमा नभएको बताए ।

कोरोना भाइरसपछि आन्तरिक उत्पादनलाई जोड दिनुपर्ने, कृषि उत्पादनलाई जोड दिनुपर्ने, औद्योगिक उत्पादनलाई जोड दिनुपर्ने, मझौला उद्योग सञ्चालनमा जोड दिएर रोजगारलाई विस्तार गर्दै राष्ट्रिय पुँजी निर्माणमा लाग्नुपर्ने उनको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board