७० प्रतिशतभन्दा बढी नयाँ मतदाता एमालेको पक्षमा : शंकर पोखरेल

काठमाडौँ, १३ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेलाई कसैले पनि पराजित गर्न नसक्ने ठोकुवा गरेका छन् ।

नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीले मंलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै ७० प्रतिशतभन्दा बढी नयाँ मतदाता आफ्नो पार्टीको पक्षमा उभिने दाबी गरे । अध्यक्ष केपी शर्मा ओलीको राष्ट्र निर्माणको भिजनबाट धेरैजसो नयाँ मतदाता आफ्नो पार्टीको पक्षमा उभिने अवस्था आएको तर्कसमेत उनले गरे ।

“करिब ३५–३६ लाख नयाँ मतदाताहरु थपिएका छन् । उनीहरुका बीचमा एउटा सर्वेक्षण गर्यौँ हामीले । त्यो सर्वेक्षणको नतिजा के आयो त भन्दाखेरि करिब ७० प्रतिशत एमालेप्रति झुकाव राख्ने मतदाताको रुपमा प्रकट भएको छ,” उनले भने,“वास्तवमा भन्नुहुन्छ भने हाम्रो पार्टी अध्यक्षको राष्ट्र निर्माणका भिजनहरुले नयाँ मतदाताहरुलाई छोएको छ ।”

उनले ‘आई लभ यु केपी बा’ भन्ने कुरा त्यसै प्रकट नभएको भावनाका रुपमा उल्लेख गरे । राष्ट्र निर्माणको भावनाको रुपमा ओलीप्रति सम्मानका रुपमा उक्त कुरा प्रकट भएको पनि उनले बताए ।

एमाले बलियो पार्टी भएकै कारण कांग्रेससहितका सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग एक्लै चुनाव लड्ने आँट गर्न नसकेको उनको भनाइ छ । उनले आफ्नो भविष्य रक्षाका लागि गठबन्धन बनाएर अघि बढे पनि उनीहरुको स्वार्थ नमिलेको दृश्य स्थानीय तहको मनोनयनका क्रममा देखिएको धारण राखे । अब नेपालमा सबभन्दा ठुलो पार्टी र राष्ट्रिय शक्तिको रुपमा एमाले आएको उनको भनाइ छ ।

“नेकपा (एमाले)सँग सत्तामा रहेका सत्तारुढ दलहरुले एक्लै चुनाव लड्ने आँट गरेनन् । नेपालको सबभन्दा पुरानो पार्टी नेपाली कांग्रेस आज नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको छ । र, उसले चुनाव लड्नका लागि पनि अरुको सहारा खोज्नुपर्छ भन्ने कुरा स्पष्ट भएको छ । अब नेपाल सबभन्दा ठुलो पार्टीको रुपमा, राष्ट्रिय शक्तिको रुपमा एमाले आएको छ भन्ने कुरा यो निर्वाचनले स्थापित गरेको छ भन्ने कुरा म राख्न चाहन्छु,” उनले भने ।

पोखरेलले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी विधि र प्रक्रिया उल्लंघन गर्ने नेताको रुपमा माधवकुमार नेपाल भएको आरोपसमेत लगाए । एमाले छँदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपाल अहिले पार्टीको अध्यक्ष र संसदीय दलको प्रमुख बनेर बसेको समेत बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board