काठमाडौँलाई सुशासन दिलाउनु मेरो प्रमुख लक्ष्य हो : सिर्जना सिंह

काठमाडौँ, १३ वैशाख । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाको नगरप्रमुखको उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई सुशासन दिलाउनु आफ्नो प्रमुख लक्ष्य भएको बताएकी छन् ।

नेपाल महिला संघ काठमाडौँ जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले २५ वर्षदेखि लथालिंग अवस्थामा रहेको काठमाडौँ महानगरपालिकालाई सुव्यवस्थित गर्नका लागि आफूले नगरप्रमुख पदमा उम्मेदवारी दिएको बताइन् ।

“कांग्रेस पार्टीले सार्वजनिक गरेको घोषणा पत्र र मेरो प्रतिबद्धता पत्रलाई समावेश गरेर म जनताको घरदैलोमा पुग्छु, महिला अधिकार मेरो प्रमुख मुद्दा हुने छ,” उनले भनिन् ।

काठमाडौँ महानगरभित्र आफू कसैको आमा, कसैको दिदी, कसैको भाउजु, कसैको बुहारी र कसैको सासु भएर काम गरेर देखाउने उनको भनाइ छ । नेतृ सिंहले विद्यार्थीकालमा आफूले राजनीति गरे पनि पछिल्लो समय राजनीतिक परिवारमा विवाह गरेपछि ससुरा गणेशमान सिंह, सासु मंगलादेवी सिंह र श्रीमान् प्रकाशमान सिंहको राजनीतिालाई सहयोग गर्दा आफू सक्रिय राजनीतिबाट पछाडि परेको उल्लेख गरिन् ।

“मैले राजनीतिमा पद लिइनँ, राजनीति गर्न छोडिन, अब पद लिनका लागि अगाडि बढेको छु, सारा काठमाडौँवासीले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,” उनले भनिन् ।

कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले नेपालको मुटु काठमाडौँमा महिलाले नगरप्रमुखको उम्मेदवार पाउनु खुसीको कुरा भएको बताइन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board