एमाले अध्यक्ष ओलीको अभिव्यक्ति खेदजनक : कांग्रेस प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै दिएको अभिव्यक्ति खेदजनक भएको टिप्पणी गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार निर्वाचन भिडियो विमोचन कार्यक्रममा उनले भने,“देशमा निर्वाचन आचारसंहिता लागु भइसकेको छ, तर एमालेका अध्यक्ष ओलीले कांग्रेस र पार्टीको घोषणा पत्रप्रति तल्लो स्तरको अभिव्यक्ति दिनुभएको छ । सामान्य अवस्थामा पनि बोल्न नहुने अभिव्यक्ति खेदजनक छन् ।”

स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजकसमेत रहेका डा.महतले एमालेले आचारसंहिताको धज्जी उडाएको र त्यसप्रति सम्बन्धित निकायले ध्यानाकर्षण गर्न नसकेको भन्दै निर्वाचन आयोगप्रति रोष पनि प्रकट गरे । एमाले अध्यक्ष ओलीले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेसको संकल्प पत्रप्रति नकरात्मक टिप्पणी गरेका थिए ।

उनले आफ्नो पार्टीले शालीनतापूर्वक निर्वाचन अभियान सञ्चालन गरेको बताउँदै स्थानीय सरकार जनताको घरदैलो पुग्ने सरकार भएको कांग्रेसले स्थानीय आवश्यकता र नागरिकका चाहना सम्बोधन गर्ने गरी स्थानीय तहमा नै घोषणा पत्र ल्याउने पनि उल्लेख गरे ।

उनले कांग्रेसले हालै सार्वजनिक गरेको घोषणा पत्र स्थानीय सरकारलाई सबल, सक्षम, उत्तरदायी र सेवाप्रवाहमुखी बनाउने ध्येयले ल्याएको नीतिगत संकल्प भएको उल्लेख गर्दै यसले जनताका अप्ठेरो समाधान गर्न सघाउने बताए ।

कांग्रेसले राज्य सञ्चालको अवसर पाउँदा जहिले पनि जनता र देशको हितमा काम गरेको दाबी गर्दै प्रवक्ता डा.महतले पार्टीका नीति, कार्यक्रम र पार्टीले तीनै तहका सरकारमा रहँदा गरेका कामलाई जनतासमक्ष पुर्याउन चर्चित कलाकारको टिमले निर्माण गरेको भिडियो सन्देशमूलक रहेको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board