साउदीमा जम्बो टोली भ्रमणपछि निगमका अध्यक्षलाई स्पष्टीकरण

१३ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले शुरु गरेको साउदी अरेबियाको रियादमा उडानसँग असम्बन्धित व्यक्तिहरुको जम्बो टोलीलाई साउदी लगेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेका छन् ।

पर्यटन मन्त्री आलेको सचिवालयका अनुसार यो टोलीमा नेपाल वायुसेवा निगमको उडानसँग असम्बन्धित धेरै व्यक्तिहरुलाई निगमका अध्यक्ष युवराज अधिकारीले साउदी अरेबिया लगेपछि स्पष्टीकरण सोधिएको हो । ‘हामीले निगमको उडानका लागि चाहिने व्यक्तिलाई मात्रै लैजानुस् भनेका थियौं,’ सचिवालयका एक अधिकारीले भने, ‘तर, असम्बन्धित व्यक्तिहरुको जम्बो टोली लगेपछि स्पष्टीकरण सोधेका छौं ।’ गत शुक्रबार काठमाडौंबाट रियाद उडेको पहिलो उडानमा दुई दर्जन व्यक्तिलाई निगमले सित्तैमा रियाद उडाएको थियो । यसअघि आलेले निगमको आन्तरिक उडानमा प्रयोग भइरहेको एक जहाज निजी कम्पनीलाई ठेक्कामा दिएको सन्दर्भमा समेत स्पष्टीकरण सोधेका छन् । निगमले आफ्नो जहाजमा टिकट काटेर उडाउने गरी अर्कै एक निजी कम्पनीलाई चार्टर्ड उडान गर्न जहाज ठेक्कामा दिएको मन्त्रालय स्रोतको भनाइ छ । ‘यसरी ठेक्कामा दिँदा कानूनी प्रावधान पुरा गरेको छ कि छैन, ठेक्कामा दिँदा निगमलाई आर्थिक लाभ हानी के हुन्छ, प्रक्रिया पारदर्शी छ कि छैन,’ भन्नेजस्ता प्रश्न राखेर स्पष्टीकरण सोधिएको ती अधिकारीले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति