चुनावमा आफूखुसी दिएका उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको छः गुरुङ

काठमाण्डौ, १३ बैशाख । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्ता गठबन्धनका दलहरूले पालिका चुनावमा आफूखुसी दिएका उम्मेदवारी फिर्ता गराउन सबै ठाउँमा पहल भइरहेको बताएको छ ।

सत्तारुढ दलहरूबीचको सहमति विपरीत पनि पालिका चुनावमा मनोनयन दर्ता भएको उल्लेख गर्दै प्रमुख सचेतक गुरुङले त्यसलाई फिर्ता गरेन सक्दो पहल र प्रयास भइरहेको बताएको हो । उनले मनोनयनमा परेकाहरूबाट पनि सहमतिमै उम्मेदवार कायम गर्न गठबन्धनका दलहरूबीच सहमति नभए पनि एमालेप्रति सङ्केत गर्दैै प्रतिगमनकारी, संविधान विरोधी शक्तिलाई हावी हुन नदिन आफूहरू सचेत रहेको बताए । संवाद डबलीले आज मङ्गलवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले एमालेले प्रतिगमनकारी, पश्चगमनकारी कदम चालेकाले त्यसलाई रोक्न यथास्थितिवादी कांग्रेससँग गठबन्धन बनाउनुपरेको तर्कसमेत गरे । उनले भने, ‘कतिपय पालिका र वडामा दलहरूले आ–आफनो दलका तर्फबाट मनोनयन दर्ता गराएका छन् । संवाद् चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास भइरहेको छ । यदि त्यो भएन भने पनि प्रतिगमन र पश्चागामी शक्तिहरूलाई हावी हुन नदिने गरी हामी अन्य दलसँग सहकार्य गरेर अघि बढ्न तयार छौँ ।’ प्रमुख सचेतक गुरुङले केपी ओली नेतृत्वको सरकारले साढे तीन वर्षको आफ्नो कार्यकालमा उत्पादनमूलक क्षेत्रमा लगानी नगरेका कारण देशको आर्थिक अवस्था कमजोर बनेको आरोपसमेत लगाए । उनले उत्पादनमूलक क्षेत्रमा लगानी नहुँदा देशमा आयातित वस्तुहरूमा लगानी गर्न बाध्य हुनुपर्ने अवस्था आएको पनि स्पष्ट पारे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति