मनाङका १५ जनप्रतिनिधि निर्विरोध

लमजुङ । मनाङका १५ जनप्रतिनिधि निर्विरोध बनेका छन् । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि केही पालिकामा वडाध्यक्ष र सदस्य निर्विरोध बनेका हुन् । यद्यपि, निर्वाचन आयोगले भने अन्तिम नामावली प्रकाशन गरी दाबीविरोध सकिएपछि मात्र निर्विरोध घोषणा गर्ने छ ।

चार गाउँपालिका रहेको मनाङमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका साथै स्वतन्त्र उमेरदवारको एकल उम्मेदवार परेको हो । मनाङको चामे गाउँपालिका– १ र २ का वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । वडा १ मा नेकपा एमालेका खड्कजंग गुरुङ निर्विरोध भएका हुन् ।

सो वडामा एमालेबाटै महिला सदस्यमा राजकासी गुरुङ र दलित महिला सदस्यमा अनिता विक निर्विरोध भएका छन् । वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भएका छन् । सोही वडामा महिला सदस्यमा गममाया गुरुङ र दलित महिला सदस्यमा नविना परियार कांग्रेसबाट निर्विरोध बने ।

नासो गाउँपालिकामा कांग्रेसबाट वडा नम्बर ५ वडाअध्यक्षमा थुतेन लामा, वडा नम्बर ६ को वडाध्यक्षमा पुष्पबहादुर गुरुङ र वडा नम्बर ७ को वडाध्यक्षमा ओमबहादुर गुरुङ निर्विरोध भए ।

मनाङका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले अन्तिम नामावली प्रकाशन गरी दाबी विरोधको समय सकिएपछि मात्र निर्विरोध निर्वाचित घोषणा गर्न मिल्ने बताए । निस्याङ गाउँपालिका–३ वडाध्यक्षमा स्वतन्त्रबाट कृष्ण लामा र वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रबाट च्योल्पा गुरुङको वडाध्यक्षमा एकल उम्मेदवारी परेको छ । सोही वडामा अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्यमा रिया गुरुङ र दलित महिला सदस्यमा सुष्मिता सेन्चुरीको एकल उम्मेदवारी परेको छ । उनीहरु स्वतन्त्रबाट उम्मेदवार बनेका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board