स्थानीय चुनाव : आज मनोनयन दर्ताको अन्तिम दिन, आजै सूची प्रकाशन हुने

काठमाडौँ, १२ वैशाख । स्थानीय तह सदस्य निर्वाचनका लागि आज सोमबार पनि मनोनयन दर्ता हुँदै छ । आइतबारबाट मनोनयन दर्ता भए पनि न्यून मात्रामा उम्मेदवारी परेको छ ।

साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराए पनि विशेषगरी सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले धेरैजसो ठाउँमा आज मनोनयन दर्ता गराउँदैछन् ।

७५३ स्थानीय तहमा ३५ हजार २२१ पदका लागि मनोनयन दर्ता हुने भए पनि आइतबार १० हजार ५२३ जनाको मात्र उम्मेदवारी परेको छ । बिहान १० देखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय राखिएको छ ।

मनोनयन दर्ता भएका उम्मेदवारको सूची आजै प्रकाशन हुने छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले मनोनयन सकिएपछि सोमबार नै उम्मेदवारहरूको सूची प्रकाशन गरिने बताए ।

यसअघि एकै दिन मनोनयन दर्ता र उम्मेदवारहरूको सूची प्रकाशन गर्नुपर्दा समयको चाप परेको उनको भनाइ छ ।

सूची प्रकाशनपछि भने १३ वैशाखमा उम्मेदवारविरुद्ध दाबी–विरोध गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

१४ र १५ वैशाखमा मनोनयन पत्र जाँच गर्ने र परेका उजुरीको जाँचबुझगरी निर्णय गर्ने, १५ गते नै उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने, १६ वैशाखमा भने उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ ।

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board