देउवाको जिल्लामा एमाले र मल्ल पक्षबीच तालमेल

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा कांग्रेसमा विवाद देखिएको छ । दुई पक्षमा विभाजित भएको कांग्रेसको एक पक्षले आगामी स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)सँग चुनावी तालमेल गरेको छ।

पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले कांग्रेस बिपीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो ।

आइतबार भएको दुई पक्षीय बैठकले जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्न निर्णयसँगै भागबन्डा गरेको छ ।

जसअनुसार जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा कांग्रेस विपीबाट हरिप्रसाद भट्ट नगरप्रमुखमा र एमालेका यज्ञराज अवस्थी उपप्रमुखमा चुनाव लड्ने भएका छन् ।

परशुराम नगरपालिकामा भने प्रमुखमा एमालेका केशव बोहरा र उपप्रमुखमा कांग्रेस विपीका उम्मेदवारलाई दिने सहमति भएको छ। यस्तै आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेलाई दिने निर्णय भएको छ ।

भागेश्वर गाउँपालिकाको अध्यक्ष भने नेकपा (एमाले)लाई र उपाध्यक्ष कांग्रेस विपीलाई दिइने भएको छ। अजयमेरु गाउँपालिको अध्यक्षमा एमालेका पदम पाल र विपी कांग्रेसबाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुर्गाको अध्यक्षमा विपी कांग्रेसबाट गोकुल शाही, उपाध्यक्षमा एमालेकी तारा खाती चुनाव लड्ने भएका छन् ।

उता गन्यापधुरामा कांग्रेस विपीबाट सुरेन्द्र माली अध्यक्षमा र एमालेबाट इन्द्रबहादुर महरा उपाध्यक्षमा उम्मेदवार हुने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

निर्णयमा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रकाश साउद र नेपाली कांग्रेस विपीका जिल्ला जिल्ला सभापति तिलक हमालले हस्ताक्षर गरेका छन् ।

यसअघि मल्ल पक्षले स्थानीय तह निर्वाचनका लागि टिकट बाँडफाँट गर्दा अन्यायमा परेका नेताहरुलाई सम्बोधन नगरे छुट्टै पार्टीबाट चुनाव लड्ने चेतावनी दिदै आएका थिए । आफ्ना माग सुनुवाइ नभएपछि नेपाली कांग्रेस परित्याग गरि नेपाली कांग्रेस विपिमा प्रवेश गरेको एक नेता बताउँछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति