काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘भ्रष्टाचार मुक्त बनाऔँ, विकास र समृद्धिको अभियान अघि बढाऔँ’ भन्ने नारा दिएर स्थानीय तह केन्द्रित घोषणापत्र सार्वजनिक गरेको छ ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जसपाले घोषणापत्र सार्वजनिक गरेको हो । निर्वाचनले स्थानीय लोकतन्त्र, स्वायत्तता, स्वशासनको प्रत्याभूति तथा प्रभावकारी सेवासुविधाप्रदान गर्न उल्लेखनीय योगदान गर्ने जसपाको विश्वास छ ।
जसपाले वडा र पालिका कार्यालयहरूलाई सेवाग्राहीमैत्री बनाइने, जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने र सरकारी कर्मचारी, राजनीतिक नेतृत्वले भ्रष्ट्राचार गरेमा, प्रमाण भेटिएमा तुरून्त कानुनी कारबाही गरिने जनाएको छ ।
त्यस्तै प्रत्येक वडामा ५० र नगरपालिकामा ५०० जना युवालाई रोजगारी दिने र माध्यामिक तहसम्मको शिक्षा व्यवहारिक रूपमै निःशुल्क र गुणस्तरीय बनाउने घोषणापत्रमा उल्लेख गरिएको जसपा नेता अशोक राईले जानकारी दिए ।
स्थानीय तहको करको दायरालाई बढाएर करको दरलाई कम पार्ने योजना जसपाको रहेको उनले बताए ।
पत्रकार सम्मेलनमा जसपा अध्यक्ष उपेन्द्र यादवले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने र गाँउ गाँउमा स्वस्थकर पिउने पानी, फोहरमैला व्यवस्थापनका विषय र विपत् व्यवस्थापन समितिलाई पार्टीले प्राथमिकताका साथ राखिएको बताउनुभयो ।
त्यस्तै जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलेले मास्टरप्लान बनाएरनै विकासको योजनालाई अघि बढाउने प्रतिवद्धता जनाए । लोकतन्त्रलाई जनताको घरदैलोमा पुर्याउने र तल्लोतहबाटै विकास गर्ने योजना आफूहरुको रहेको उनको भनाइ छ ।
जसपाले मधेसी, थारू, मुस्लिम, आदिवासी,जनजाति, खस, सीमान्तकृत, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शिल्पी÷दलित, दूर्गमबासी, महिला, लैङ्गिक अल्पसंख्यकआदिको सम्मानजनक सहभागिता गर्ने प्रतिवद्धता जनाएको छ ।
आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न रू १० हजारको अनुदान दिनेलगायतका योजना जसपाको घोषणापत्रमा उल्लेख छ ।
प्रतिक्रिया