कोरोनाको जोखिम कम भएसँगै पछिल्लो समय मुक्तिनाथमा दर्शनार्थीहरुको घुइँचो

काठमाडौं, १० बैशाख ।  धार्मिक तीर्थस्थल मुक्तिनाथमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । कोरोनाको जोखिम कम भएसँगै पछिल्लो समय मुक्तिनाथमा दर्शनार्थीहरुको घुइँचो लाग्न थालेको हो । नयाँ वर्ष सगै कोरोना कहर न्यून भएसगै स्वदेशी पर्यटकहरुले मुक्तिनाथ क्षेत्र भरिभराउ भएको छ । हरेक वर्ष चैते दशैँ, बडा दशैँ एवं औँशीको अवसरमा मुक्तिनाथ धाममा दर्शन गर्ने भक्तालुहरुको भीड लाग्ने गर्छ । यस नेपालको मुस्ताङ जिल्लामा पर्ने मुक्तनाथ धाम भारतको बद्रीनाथ र केदारनाथ जत्तिकै महत्वपूर्ण भएपनि ‘नजिकको तीर्थ हेला’ झैँ भइरहको स्थानीयहरु बताउँछन् ।

अरु सबै क्षेत्रमा गएर धार्मिक कार्यक्रम गरेपनि अन्तिममा मुक्तिनाथ धाममा गएर दर्शन गरेपछि मात्रै मुक्ति मिल्ने विश्वास रहेको छ । पितृ उद्धारका लागि भक्तजनहरुले सोह्रश्राद्धमा कागबेनीमा पिण्डदान गरेर मुक्तिनाथ मन्दिरको दर्शन गरे पितृहरुको उद्धार भइ स्वर्गमा वास पाउने शास्त्रोक्त कथन छ । वैदिक सत्य सनातन हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान विष्णुको पुण्यभूमि मानिन्छ ।

विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा बनेको किंवदन्ती पनि प्रचलित छ । उक्त १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । प्राचीनकालदेखि नै मुक्तिनाथ स्थलमा विसं १८७१ मा मन्दिर बनाइएको थियो । यही स्थलमा बौद्ध गुरु पद्मसम्भवले पनि तिब्बत जाने बेला तपस्या गरेको भन्दै यहाँ विभिन्न गुम्बासमेत बनाइएका कारण बौद्ध धर्मावलम्बीले यस स्थललाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् । मन्दिरमा व्राह्मण पुजारी तथा झुमाले पनि पूजा गर्छन् । हिन्दुले भगवान् विष्णुको शिलारूप शालिग्राम विराज भएको विश्वास गर्ने र बौद्ध धर्मावलम्बीले तान्त्रिक सिद्ध गुरु रिञ्पोछेसँग जोडेर यस स्थललाई हेर्ने गरेको पाइन्छ । त्यसैले पनि मुक्तिनाथ धाम पर्यटक र भक्तालुहरुका लागि पवित्र मानिन्छ । मुक्तिनाथ क्षेत्रलाई अझै विश्वस्तरमा प्रचारप्रसार गर्न सके यसको महत्व र महिमा झनै बढ्ने स्थानीयहरु बताउँछन् । यहा आन्तरिक मात्रै नभएर भारतीयसमेत बस रिजर्भ गरेर मुक्तिनाथमा पुग्ने गरेको व्यवसायी बताउँछन् । मुक्तिनाथमा बढेको भीडले स्वयं पर्यटक नै दंग परेका छन् । भारतको गुजरातबाट आएकी पूर्णकाशी गुरुङ मुक्तिनाथ क्षेत्रमा पर्यटकको भीड देख्दा अचम्ममा परिन् । पछिल्लो समय अत्यधिक मात्रामा पर्यटक आएको होटल व्यवसायी बताउँछन् । ‘मान्छे नै गन्न नसक्ने गरी आएका छन्,’ मुक्तिनाथमा होटल व्यवसाय गरिरहेका कर्म लामाले भने । मुक्तिनाथमा २० भन्दा बढी पर्यटकीय होटल रहेको र सबै खचाखच रहेको उनले जानकारी दिए ।

समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइको मुक्तिनाथमा प्रतिदिन ४ हजार जनाले दर्शन गरिरहेका पुजारी कृष्णप्रसाद सुवेदीले बताए । अप्रिल, मे र जुन मनाङ र मुस्ताङमा पर्यटक आउने सिजन हो । चक्रीय अन्नपूर्ण पदमार्गमा वैशाख–जेठमा विदेशी पर्यटक अत्यधिक आउँछन् । यो सिजनमा धेरै मात्रामा भारतीय तीर्थालु आउने गरेको पुजारी सुवेदीको भनाइ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन गरेपछि दक्षिणी भारतबाट धेरै तीर्थालु आएको उनले बताए । मोदीले २०७५ वैशाख २९ मा मुक्तिनाथ दर्शन गरेका थिए ।अहिले मुक्तिनाथमा जिप, कार, स्कोर्पियो र बस सजिलै आउन सक्ने इलाका प्रहरी कार्यालय मुक्तिनाथका असई गिरु पौडेलले जानकारी दिए । एकै दिन ३ सयको हाराहारीमा मोटरसाइकलका सवारी साधनसमेत आउने गरेको उनले बताए । अहिले प्रतिदिन औसत ३ सय भारतीय पर्यटक मुस्ताङ आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका संरक्षण कार्यालय जोमसोमका पर्यटन सहायक राजन लामिछानेको भनाइ छ ।

औसत ५० जना भने तेस्रो मुलुकका रहने गरेको उनले बताए । पर्यटकलाई पोखरा, मुस्ताङतर्फ घासा र जोमसोममा पर्मिट दिने गरिएको एक्याप मनाङका कार्यालय प्रमुख ऋषि बरालले जानाकरी दिए । सार्क मुलुकका पर्यटकलाई प्रतिव्यक्ति १ हजार र विदेशीलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिएर संरक्षित क्षेत्रको भ्रमण अनुमति दिइन्छ । कोरोना संक्रमणपछि मुक्तिनाथको चेकपोस्ट बन्द छ । पर्यटकलाई दृष्टिगत गरी मुक्तिनाथ चेकपोस्ट छिट्टै सञ्चालन गरिने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति