‘नाइँ नभन्नू ल ६’ मा अनुभव हटे, आँचल जोडिइन्

काठमाडौं । बालकलाकार अनुभव रेग्मी र ‘नाइँ नभन्नू ल’ सिरिज एकअर्काकाे पहिचान रुपमा रहेकाे छ । दोस्रो श्रृंखलादेखि पाँचौं श्रृंखलासम्म उनले मुख्य भूमिकामा उनी अब आउने ‘नाइँ नभन्नू ल ६’ मा नहुने भएका छन् ।

कतिपयले ‘नाइँ नभन्नू ल’ सिरिज चल्नुको कारण अनुभवलाई पनि मान्ने गरेका छन् । दर्शकलाई रुवाउने जिम्मा नै उनको काँधमा हुने गर्थ्यो । तर, अब यो फिल्मको छैटौं सिरिजमा उनको अभिनय नरहने भएको हाे । अनुभव अहिले हर्लक्कै बढेका छन् । उनलाई अब न बाल कलाकारको रुपमा अभिनय गर्न सुहाउँछ न हिरो बन्न उमेर र कद पुगेकाे छ । यही कारण निर्देशक विकासराज आचार्यले छैटौं सिरिजमा अनुभवलाई नलिने भएका हुन् । ‘नाइँ नभन्नू ल’ सिरिजबाट अनुभव हट्दा अभिनेत्री आँचल शर्मा भने मुख्य भूमिकामा देखिने भएकी छन् । उनले फिल्ममा काम गर्ने मौखिक सहमति भइसकेको छ । निर्देशक आचार्यले फिल्ममा आँचलले अभिनय गर्ने लगभग पक्का भएको तर कागजी सम्झौता हुन बाँकी रहेको जानकारी दिए । आँचलले निर्देशक मिलन चाम्सको फिल्म ‘बर एन्ड बधु’को छायांकन सकाएपछि ‘नाइँ नभन्नू ल ६’का लागि समय दिनेछिन् । उनलाई फिल्मको कथावस्तु र चरित्र मन परेको छ । उनले यही फिल्मको चौथो पार्टबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । सामिप्यराज तिमल्सिना र विकासराज आचार्यले मिलेर फिल्मको कथा लेखेका हुन् । पहिला ‘नाइँ नभन्नू ल ६’मा बाल कलाकार सेड्रिना शर्माको पनि अभिनय रहने बताइएको थियो । उनी ठूलो भएपछिको भूमिकाका लागि अभिनेत्री मलिका महतलाई अफर गरिएको थियो । तर, अब निर्देशक आचार्यले कथालाई परिवर्तन गरेका छन्, जसमा सेड्रिनाको पनि अभिनय नरहने भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board