नेपाल एयरलाइन्सले थाल्यो काठमाडौँ–रियाद व्यवसायिक उडान सुरु

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले काठमाडौँ–रियाद–काठमाडौँ नियमित व्यवसायिक उडान सुरु गरेको छ । नेपाल एयरलाइन्सले आजदेखि सुरु गरेको जनाएको छ ।

नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान सञ्चालन गर्ने भएको निगमले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट रियादका लागि नेपाल एयरलाइन्सको पहिलो उडान आज सवा पाँचबजे प्रस्थान गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा निगमलाई साउदी अरेबियाको रियादमा उडानका लागि उडान अनुमति प्राप्त भएपश्चात् उक्त गन्तव्यमा नेपाल एयरलाइन्सले आफ्नो गन्तव्य विस्तार गरेको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

निगमले हाल भारतको दिल्ली, मुम्बइ र बैङ्लोर, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबइ, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, चीनको हङकङ र जापानको नारितामा उडान सञ्चालन गर्दै आएकोमा नयाँ गन्तव्यको रुपमा साउदी अरेबियाको रियाद बनेको छ ।

यससँगै अब ८ मुलुकका १० वटा गन्तव्यहरुमा नेपाल एयरलाइन्सले उडान सञ्चालन गर्ने भएको छ । उक्त गन्तव्यहरुमध्ये निगमले दिल्लीमा दैनिक २ वटा उडान सञ्चालन गर्दै आएको छ भने अन्य गन्तव्यहरुमा साप्तहिक रुपमा क्रमशः मुम्बइ, बैङ्लोर, क्वाललम्पुर बैंककमा ३–३ वटा, दोहामा ५, दुबइमा ५, हङकङमा १ र नारितामा ३ वटा उडान सञ्चालन गर्दै आएको छ । त्यस्तै, दोहा र क्वालालम्पुरको उडान छिट्टै दैनिक रुपमा सञ्चालन गर्ने तयारी रहेको निगमले जनाएको छ ।

उल्लेखित गन्तव्यका अन्तर्राष्ट्रिय उडानहरुमा हाल निगमको सिट अकुपेन्सी ८० प्रतिशतभन्दा बढी रहेको निगमको दाबी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board