एमाले सम्झिएर गठबन्धनलाई रातभरि ‘ऐँठन’ हुन्छ : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई एमाले देखेर ‘ऐँठन’ हुने तर्क गरेका छन् । एमालेको केन्द्रीय पार्टी कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरिएको नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवस तथा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धनका नेताहरुलाई एमाले सम्झिएर राति ऐँठन हुने टिप्पणी गरेका हुन् ।

“हिजोआज गठबन्धनलाई एमालेसँग तर्सिएर रातभरि ऐँठन हुन्छ । झस्केको झस्कै गर्छ । राति सुत्यो कि एमाले झसंग सम्झन्छ, ऐँठन हुन्छ । सुत्यो कि ऐँठन हुन्छ । किनकि गठबन्धन एमालेसँग डराउँछ,” उनले भने ।

केही दिनअघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गठबन्धन देखेर एमाले थरथर कामेको टिप्पणी गरेका थिए ।

नेता पौडेलको जबाफ दिँदै ओलीले भने,“एकजनाले अरुले त नपत्याउने आफैँले समेत विश्वास नगरेको कुरो बोल्नुभएछ । गठबन्धन देखेर एमाले थरथर काम्छ भनेर एकजनाले बोलेछन् । उहाँसँग भेट भयो भने सोध्न मन छ आफैँलाई त पत्यार छ ?”

ओलीले आफूले गरेका भ्रष्टाचार, अनियमियततालगायत कामहरुको दोष लगाएर एमालेलाई जनताबाट टाढा बनाउन गठबन्धनले भ्रम छरिरहेको बताए । उनले जति नै भ्रम फैलाए पनि अब तीन नहको सरकारमा एमाले आउने दाबी गरे । त्यस्तै, ओलीले मुलुकको विकासको लहरलाई अढि बढाउनका लागि पनि तीनै तहको चुनावमा एमालेलाई जिताउनुपर्ने धारणा राखे ।

उनले एमाले जनताको मनमा बसेको पार्टी भएको भन्दै एमालेको शक्तिलाई कमजोर नआक्न चेतावनी दिए । उनले ९१ सालमा स्थापना भएको प्रज्ञा परिषद्को उत्तराधिकारी पनि एमाले नै भएको बताए । उनले पवित्र मनका साथ देशभक्तिको भावना अनुरुप घोषणा पत्रमा उल्लेख विषयलाई कार्यान्वयन गर्ने धारणा राखे ।

अध्यक्ष ओलीले एमालेविरुद्ध एक्लै लड्न नसक्ने भएपछि ‘प्रतिक्रियावादी शक्तिहरु’ मिलेको टिप्पणी गरे । उनले भने,“हाम्रा विरुद्ध प्रतिक्रियावादी शक्तिहरु किन मिल्नुपर्‍यो ? बाख्रो खानु पर्‍यो भने कोही पनि हुल बाँधेर जाँदैन । अर्ना खानु पर्‍यो भने बाघ पनि हुल बाँधेर आउँछ । अहिले एमालेविरुद्ध त्यसैगरी हुल बाँधेर आएका छन् । एमाले सानो भए सिध्याउँथे । एमाले मस्किष्क हेर्दा कम्युटरभन्दा तगडा छ र मसल हेर्दा अलिबाबाभन्दा ठुलो छ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति