माधव नेपालको गृहनगरमा गठबन्धन नहुने, कांग्रेस र नेकपा एसबाट अलग–अलग नाम सिफारिस

रौतहट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको गृहनगर चन्द्रपुरमा पाँच दलीय गठबन्धनको सम्भावना टरेको छ ।

नेकपा एसले रौतहटको सबैभन्दा महत्वपूर्ण नगरपालिका चन्द्रपुरमा बाबुराम दाहाललाई मेयर तथा रामरती चौधरीलाई उपमेयर सिफारिस गरेको छ भने कांग्रेसले यसअघि सिफारिस गरेका सातजनाको नामावलीकाबारेमा आज टुंगो लगाउँदै छ ।

‘कांग्रेस चन्द्रपुर नगर समितिले गठबन्धन नगर्ने भनेर यसअघि नै निर्णय गरिसकेको छ, सो निर्णयका बारेमा आज जिल्ला समिति बैठकमा आवाश्यक निर्णय हुने छ,’ चन्द्रपुर नगरसभापति मुकेश गिरीले भने । उनका अनुसार गिरीसहित सपु्तबहादुर कार्की, अनन्त कोइराला, रमेशहरि अधिकारी, रामचन्द्र चौधरीलगायतलाई मेयरका लागि सिफारिस गरिसकेको छ ।

नेकपा एसले पनि गत बुधबारको बैठकवाट दाहाल र चौधरीलाई मेयर र उपमेयर सिफारिस गरे पनि माओवादी केन्द्रले भने अझै नाम सिफारिस गरिसकेको छैन ।

‘जिल्ला तहमा तीन पटकसम्म गठबन्धन बैठक बसेको भए पनि चन्द्रपुरका लागि एकपटक पनि बैठक बस्न सकेको छैन,’ माओवादी केन्द्रीय सदस्य देवेन्द्र पौडेलले भने, ‘कमजोर दलहरुले मेयर र उपमेयरको नाम सिफारिस गरिसकेका छन् । हामी पनि बेलुकासम्म माओवादीका मेयर र उपमेयरको नाम सिफारिस गरिसक्नेछौँ ।’

उनका अनुसार गठबन्धनको बैठक बसाउन खोजे पनि अझैसम्म कुनै प्रयास सफल भएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति