पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिपछि गण्डकीमा तरंग, सम्भव छ एमालेको सरकार ?

पोखरा । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखराको मेयर/उपमेयरको टिकटबारे छलफल हुँदा सांसद्लाई रोक्ने प्रयास गरेका छन् । उनले एउटा अभिव्यक्ति दिएका छन्, ‘जुन सुकै बेला गण्डकीको सरकार ढल्न सक्छ । र एमालेले त्यसको नेतृत्व गर्नुपर्छ । त्यसैले सांसदलाई मेयरको टिकट दिन हुँदैन ।’ उनको यो अभिव्यक्तिले गण्डकी प्रदेशमा तरंग आएको छ ।

एमालेनिकट केही नेताहरुले नै उनको अभिव्यक्ति भन्दै ४८ घन्टाभित्र सत्तारुढ दलका ३ सांसद्ले राजीनामा दिन लागेको सामाजिक सञ्जालमै लेखेका छन् । ‘नेकपा एमाले सचिवालय बैठकमा विशेष श्रोतका अनुसार उपमहासचिव कमरेड पृथ्वीसुब्बा गुरूङले ४८ घन्टाभित्र अन्य दलका ३ जना सांसद्ले राजीनामा दिने र आफ्नो नेतृत्वमा सरकार बन्ने रिपोर्ट गर्नुभएअनुसार पार्टीले कुनै प्रदेश संसद्लाई मेयर उठाउन नहुने प्रस्ताव गर्नुभएको छ,’ एमाले निकट इञ्जिनियरहरुको संस्था पीनका केन्द्रीय नेता ध्रुव भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

उपमहासचिव गुरुङले समेत जुनसुकै अवस्थामा सरकार ढल्न सक्ने बताए । ‘सर्वोच्चले विकल्प रहँदासम्म सरकार बन्न दिनुपर्छ र चुनावमा जान दिनुहुँदैन भनेर फैसला गरेको छ । त्यो हेर्दा गण्डकीमा छिट्टै एमालेको सरकार बन्न सक्छ,’ उनले भने, ‘अहिले सांसद्लाई राजीनामा गराएर मेयरमा पठाउँदा समस्या हुन्छ । त्यसैले सांसद्लाई टिकट दिन हुँदैन ।’ तर, एमालेले नै भरतपुरमा बागमती प्रदेश सांसद्लाई मेयर टिकट दिने पक्का भएको छ । उनले संसदबाट राजीनामा दिइसकेका छन् ।

‘बागमतीमा जति गरेपनि एमालेको सरकार बन्दैन । गण्डकी र लुम्बिनीमा त्यो सम्भावना जिवित छ,’ उनले अघि भने, ‘अरु प्रदेशमा जे सुकै होस् । लुम्बिनी र गण्डकी विशेष ख्याल गर्नुपर्छ ।’ तर उनको अभिब्यक्तिले खासै प्रभाव पार्ने सम्भावना छैन । किनकी गण्डकी सरकार संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेको हो । संविधानतः यही सरकार अन्तिम हो । यदि यो सरकार ढले संसद विघटन हुन्छ र ६ महिनाभित्र चुनावको मिति घोषणा गरिन्छ ।

उनको अभिव्यक्तिपछि सत्तारुढ दलहरु सचेत भएका छन् । दलका नेताहरुले आफ्ना सांसद खोजी गर्न थालेका छन् । यहाँ जेठ २९ गते गुरुङ नेतृत्वको एमाले सरकार ढलेर गठबन्धनको सरकार बनेको हो । तर, निकै झिनो बहुमतमा । ५९ सांसद रहेको यहाँ सरकारको समर्थनमा सभामुखसहित ३२ सांसद छन् । एकजनाले छोड्नेवित्तिकै सरकार ढल्छ ।

पोखराको मेयरमा एमालेबाट प्रदेश सांसदहरु कृष्णबहादुर थापा र राजीव पहारीको नाम केन्द्रमा सिफारिस भएको छ । उपमहासचिव गुरुङले थापालाई टिकटबाट रोक्न फण्डा गरेको आरोप एकाथरीको छ भने अर्कोथरीले समर्थन गरेका छन् । यहाँको मेयर उपमेयरमा ३–३ जनाको नाम मतदान प्रक्रियाबाट टुंग्याउन लागिएकोमा अन्तिम अवस्थामा सबैको नाम सिफारिस गरिएको हो ।

कास्कीमा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकराव छ । थापा अधिकारी गुटमा खुलेका कारण गुरुङले उनलाई रोक्न लागेको दाबी उक्त पक्षको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board