डब्ल्यूएचओका महानिर्देशक डा. गेब्रेयसस काठमाडौं आइपुगे

काठमाडौं, ८ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं आइपुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी काठमाडौं आइपुगेका हुन् । उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललगायतका अधिकारीले स्वागत गरे । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसमेत रहेका छन् । डब्ल्यूएचओको प्रतिनिधि मण्डलको सम्मानमा आजै बेलुकी स्वास्थ्य मन्त्री खतिवडाले आयोजना गरेको रात्रिभोजमा महानिर्देशक गेब्रेयसस सहभागी हुने छन् । तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्ने कार्यक्रम छ । नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारी, डब्ल्यूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्ने छन् । नेपाल भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन समेत गर्ने स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए । गेब्रेयसस नेतृत्वको टोली वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति