अर्थमन्त्री शर्माले नैतिकता देखाउलान ? गभर्नर पुनर्बहालीपछि अर्थमन्त्री आचार्यले राजीनामा दिएको नजिर

काठमाडौं । राष्ट्रबैकका गभर्नर महाप्रसाद अधिकारीलाई अदालतले पुनर्वहाली गरिदिएपछि अहिले सर्वत्र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा आउलान ? भन्ने प्रश्न गर्न थालेका छन् ।

विगतको नजिरलाई समेत लिएर अहिले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने सर्वत्र माग भएको छ ।

सरकारले निलम्बन गरेका नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई सर्वोच्च अदालतले काममा फर्किन बाटो खोलिदिएपछि अर्थमन्त्रीको राजीनामाको प्रसंग उठेको हो । अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै मंगलबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासले उनलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

अर्थमन्त्री शर्माको प्रस्तावमा मन्त्रिपरिषदले गत चैत २४ गते गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

सरकारले हटाएको गभर्नर अदालतले पुनर्बहाली गरिदिएपछि अर्थमन्त्रीले राजीनामा दिएको उदाहरण नेपालमै छ।

२०५६ सालको आमनिर्वाचनपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए । अर्थमन्त्री भने महेश आचार्य ।

आचार्यले रामविनोद भट्टराईलाई गभर्नर बनाउन चाहन्थे भने प्रधानमन्त्री भट्टराई भने तिलक रावललाई । तिलक रावललाई गभर्नर बनाएपछि आचार्यले राजीनामा दिए । त्यसको केही समयपछि भट्टराई नेतृत्वको सरकार ढल्यो ।

त्यसपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । त्यसपछि अर्थ र रक्षामन्त्री बने आचार्य । उनले त्यसपछि गभर्नर रावलाई बर्खास्त गरिदिए ।

बर्खास्तगीविरूद्ध रावल सर्वोच्च अदालत गए । सर्वोच्चले उनलाई पुनर्बहाली गरिदियो। गभर्नरका रूपमा रावलको पुनर्बहालीपछि आचार्य अर्थमन्त्रीबाट राजीनामा दिए । त्यसपछि उनले रक्षा मन्त्रीका रूपमा मात्रै काम गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति