नेपाल द्विपक्षीय सौहार्द सहकार्य दर्साउने ‘बगैंचा’ हुनुपर्ने भूराजनीतिक खेलको ‘रणमैदान’ हाेइनः चिनियाँ राजदूत

काठमाडौँ, २ वैशाख । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भूराजनीतिक खेलको ‘रणमैदान’ हुन नहुने बताएकी छन् । उनले नेपाल द्विपक्षीय सौहार्द सहकार्य दर्साउने ‘बगैंचा’ हुनुपर्ने तर भूराजनीतिक खेलको ‘रणमैदान’ हुन नहुने बताएकी हुन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको पछिल्लो नेपाल भ्रमणका उपलब्धीबारे प्रतिक्रिया दिँदै उनले नेपाल चीनको असल छिमेकी र मित्र रहेको बताएकी छन् ।’दुई देशले सधैं एक(अर्काको सार्वभौमिकता र अखण्डताको सम्मान गर्ने गरेको छ । कसैले पनि अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेका छैनन्,’ यान्छीले भनेकी छन्, ‘अहिलेको विश्व महामारीको अवस्थाबाट बाहिर निस्किएर आर्थिक र सामाजिक विकासका लागि लाग्नुपर्ने चुनौती रहेको छ ।’ चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको भ्रमणले नेपाल चीनका लागि कति महत्त्वपूर्ण छिमेकी हो भन्ने पनि दर्साएको राजदूत यान्छीले बताएकी छन् । ‘नेपालले आफ्नो आवश्यकताअनुसार तय गरेको विकासमार्गमा चीनको सदैव साथ र समर्थन रहनुका साथै नेपालको आन्तरिक र बाह्य परराष्ट्र नीतिलाई चीनले समर्थन गर्ने र नेपालको बीआरआईमा सामेल हुने निर्णयलाई चीनको समर्थन रहेको परराष्ट्रमन्त्री वाङ यीले सन्देश दिनुभएको छ,’ उनले भनेकी छन् । यस्तै नेपाल-चीन रेल्वेमार्ग विकास गर्ने योजनामा लामो समयदेखि प्रगति नभएको भन्ने प्रश्नको उत्तर दिँदै उनले दुई देशबीच रेल्वेमार्ग बनाउनका लागि कामहरू भइरहेको र दुई देशका रेल्वे विभागबीच पत्रचारहरु भएको दाबीसमेत गरेकी छन् । उनले पूर्व सम्भाव्यता अध्ययनलगायत केही महत्त्वपूर्ण कामहरू भएको पनि बताइन् । राजदूत यान्छीले नेपालमा सडक, विमानस्थल, जलविद्युत् आयोजनाजस्ता ठूला पूर्वधार विकासका लागि चीनले सहयोग गरिरहेको र बीआरआईले यो सहकार्यलाई नयाँ उचाइ दिने पनि बताएकी छन् । उनले नेपालले आफ्नो विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग लिन सक्ने र त्यसले नेपाल-चीनको सम्बन्धमा कुनै फरक नपर्ने पनि स्पष्ट पारेकी छन् । ‘नेपाल अल्पविकसित मुलुक होस त्यसैले विकासका लागि विभिन्न स्रोतहरुबाट सयहोग लिएर आफ्नो अर्थतन्त्रलाई अगाडि बढाउन सक्छ,’ एमसीसी बीआरआईको प्रतिस्पर्धी योजना रहेको भन्ने प्रश्नको उत्तर दिँदै राजदूत यान्छीले भनेकी छन्, ‘हामीलाई आशा छ अन्तर्राष्ट्रिय जगतले पनि नेपालको राष्ट्रिय विकास लक्ष्यलाई हासिल गर्ने मनसाय मात्रै राखेर सहयोग गरेका छन् ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति