मोदीको निर्वाचन क्षेत्रको विधान परिषद् चुनावमा भाजपाको लज्जास्पद हार

काठमाडौं, १ वैशाख । भारतमा अहिले सत्तारूढ भारतीय जनता पार्टीको दबदबाजस्तै छ। केन्द्रमा नरेन्द्र मोदीको प्रधानमन्त्रीत्वमा भाजपाले दोस्रो पटक सरकार चलाइरहेको छ। भारतका १२ राज्यमा भाजपाको एकलौटी सरकार छ भने ६ राज्यमा ऊ सत्ता गठबन्धनमा साझेदार छ।

जनसंख्याका हिसाबले भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा पनि भाजपाले दोस्रो कार्यकालका लागि बहुमत पाएको छ। योगी आदित्यनाथ फेरि मुख्यमन्त्री बनेका छन्।

उत्तर प्रदेशमै पर्ने बनारस मोदीको संसदीय निर्वाचन क्षेत्र हो। सन् २०१४ र २०१९ का दुबै चुनावमा मोदी यही क्षेत्रबाट निर्वाचित भएका थिए।

उत्तर प्रदेशको माथिल्लो सदन विधान परिषदमा भने त्यही बनारसमा भाजपाले लज्जास्पद हार व्यहोरेको छ। उत्तर प्रदेशको विधान परिषद माथिल्लो सदन हो। भारत ६ राज्यमा दुई सदनात्मक व्यवस्था छ। स्थायी सदन विधान परिषदमा दुई(दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल सकिन्छ र नयाँ चुनाव हुन्छ।

यही साता विधान परिषद्का ३६ सदस्यका लागि चुनाव भएको थियो। उक्त चुनावमा ३३ सिट भाजपाले जितेको छ। तीन सिटमा भाजपा उम्मेदवार हारेका छन्। बनारसमा पनि भाजपा उम्मेदवार पराजित भएका छन्। स्थानीय जनप्रतिनिधिहरूलाई मतदान गर्ने चुनाव स्वतन्त्र उम्मेदवार अन्नपूर्णा सिंह विजयी भएकी छन्। उनले ४२३४ मत पाएकी छन् भने समाजवादी पार्टीका उम्मेदवार उमेश यादवले ३४५ मत पाएका छन्। भाजपाका उम्मेदवार डाक्टर सुदामा पटेलले भने १७० मत मात्रै पाएका छन्।

उक्त क्षेत्रका स्थानीय जनप्रतिनिधिमा भाजपाको बाहुल्यता भए पनि विधान परिषदमा भाजपा उम्मेदवारको लज्जास्पद हार कसरी भयो भन्ने कुरा अहिले चर्चाको विषय बनेको छ।

बिबिसी हिन्दीका अनुसार पटेलको हारका पछाडि अन्नपूर्णा सिंहका श्रीमानको हात हुन सक्ने उल्लेख गरेको छ।

यसअघि सोही क्षेत्रबाट विधान परिषद् सदस्य रहेका अन्नपूर्णाका श्रीमान बृजेश सिंह अहिले जेलमा छ। उनीमाथि विभिन्न मुद्दा छन्।

उक्त क्षेत्रको स्थानीय राजनीतिमा सिंहको दबदबा रहेका कारण मानिसहरूले अन्नपूर्णालाई मत दिएको हुनसक्ने आकलन गरिएको छ।

चुनावअघि भाजपा उम्मेदवार पटेलले पनि चुनावमा साम, दाम दण्ड भेद प्रयोग गरिएको बताएका थिए।

अन्नपूर्णाले भने आफ्नो जित श्रीमानको प्रभावभन्दा पनि जनताको मायाले सम्भव भएको बताएकी छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board